फिल्ममा सीताराम कट्टेल ‘सोनालाल’को भूमिकामा देखिएका छन्, राजपुर बमकाण्डमा दोषी ठहर भएका पूर्वमन्त्री मोहम्मद आफताब आलमको जस्तो गेटअपदेखि हाउभाउ र बोल्ने शैलीको यो चरित्रका कारण उनी अहिले चर्चामा छन्
काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवामा गत सोमबार र मंगलबार हाट मेला लागिरहेको थियो । फलफूल, तरकारीका स्टलदेखि विभिन्न सामग्री बेच्न राखिएका थिए । नजिकै चौरेली, लट्ठे पिङ हालिएका थिए भने मेलास्थलको बिचोबीच दर्जन बढी कलाकारहरू नाचगानमा व्यस्त थिए ।
गीत घन्किरहेको थियो :
हेर्दाहेर्दैमा चुल्ठी खुल्यो मायाको कुरा बुझियो
हेर्दाहेर्दैमा जुँगा चल्यो मायाको कुरा बुझियो
नाचगान चल्दै गर्दा सेतो कुर्ता पाइजामामाथि कालो ज्वारीकोट लगाएका, सिउँदो पारेर लरक्क कपाल कोरेका जुंगामुठे वयस्क भीडलाई जम्लाहात गर्दै नाचगानस्थलतर्फ लम्कियो । भीडले स्वागतमा खादा तथा माला लगाउँदै गर्दा नाचिरहेकी युवतीतर्फ नजर फाल्दै वयस्क त्यतै लम्किए ।
दायाँबायाँ सेनामेना लगाएर आएका यी वयस्क झट्ट हेर्दा कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलम जस्तै देखिन्थे । गेटअपदेखि हाउभाउ र बोल्ने शैली दुरुस्तै आलमको जस्तै भएका यी हुन्, सोनालाल । र, हाटबजारको सेट लगाएर यहाँ फिल्म लाज शरणम्को गीत छायांकन चलिरहेको हो । गीतमा फिल्मकै दर्जन कलाकारलाई नृत्य निर्देशन गरिरहेका थिए, गम्भीर विष्टले ।
‘म यहाँ नाच्नभन्दा पनि माहोलको रमाइलो लिन आएको हुन्छु,’ पछिल्लो समय आलमको गेटअपले चर्चामा रहेका उनै सोनालाल उर्फ सीताराम कट्टेल (धुर्मुस) ले भने । उनी ५ वर्षपछि फिल्म अभिनयमा फर्किएका हुन् । पछिल्लो पटक उनले ‘सेन्टी भाइरस’ फिल्ममा अभिनय गरेका थिए ।
उनी कलाकारहरू अर्पण थापा, मुकुन्द श्रेष्ठ र महेश त्रिपाठीसँगै हाट बजार पुगेका थिए । बम विस्फोटका घाइतेलाई इँटाभट्टाको चिम्नीमा हालेर ज्युँदै जलाएको आरोपमा पक्राउ पर्ने क्रममा आलमले भनेको वाक्य ‘आग लाग्छ, आग’ लाई नै फिल्ममा पनि सोनालालको थेगो बनाएका सीताराम आफ्नो चरित्रका बारेमा खुल्न भने हच्किए ।
भने, ‘यसबारेमा नबोलौं होला, मलाई अहिले अलि प्रेसर छ ।’ त्यसो त आलमलाई जिल्ला अदालत रौतहटले २०६४ चैत २७ को राजपुर बमकाण्डमा दोषी ठहर गर्दै गत वैशाख १३ मा जन्मकैद फैसला गरिसकेको छ ।
राजनीतिक रूपमा समेत पेचिलो बनेको राजपुर बमकाण्डका मुख्यकर्ता आलमसँग सोनालालको चरित्र समानताबारे सीतारामले मुख खोल्न चाहेनन् । ‘चरित्र निर्माणका क्रममा सोच्दासोच्दै यस्तो बन्न पुगेको हो,’ उनले थपे । यस चरित्रका लागि सीतारामले तौल बढाउनुका साथै कृत्रिम रूपमा सिलिकनमार्फत पेट र ‘हिप’ निकालेका छन् ।
कुमार कट्टेलको निर्देशन रहेको फिल्म ‘लाज शरणम्’ मा प्रचारात्मक गीतका रूपमा रहने ‘हेर्दाहेर्दैमा’ मा सीताराम, मुकुन्द, अर्पण र महेशसहित विजय बराल, सागर लम्साल, हरिश निरौला, अर्जुन घिमिरेलाई नृत्य निर्देशक गम्भीरले माला लिम्बू र गजित विष्टसँग नचाएका हुन् ।
‘सबा तीन मिनेटको गीतभित्र १०–११ जना चल्तीका कलाकारलाई चरित्रसहित एउटै फ्रेमभित्र प्रस्तुत गर्नु मेरा लागि निकै चुनौतीपूर्ण काम रह्यो,’ गम्भीरले भने, ‘तर पनि लोकलयमा आधारित यस गीतले श्रोता, दर्शकलाई रमाइलो बनाउनेछ भन्ने ठानेको छु ।’ यसको भिडियो भने बिहीबार सार्वजनिक हुँदै छ ।
‘भद्रगोल’ र ‘सक्किगोनी’ जस्ता चर्चित हास्य टेलिसिरियलमार्फत दर्शकमाझ चिनिएका पात्र तथा कलाकारलाई नै लिएर पहिलो पटक फिल्म बनाइरहेका निर्देशक कुमारले ‘लाज शरणम्’ बाट आशावादी रहेको बताए । शिवरात्रिको छेको पारेर फागुन १४ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मले बलियो विषयवस्तुसँगै चुस्त प्रस्तुति बोकेकाले पनि दर्शकलाई नयाँ स्वाद लाग्ने उनको भनाइ छ ।
गीतको छायांकनमा फुर्सदिलो बनेका उनले फिल्ममा अन्य गीत दृश्य परिस्थिति र पात्र मनोभावअनुसार आउने भएकाले पनि प्रमोसनल गीतका रूपमा ‘हेर्दाहेर्दैमा’ लाई ‘ओएसटी सङ’ का रूपमा राखिएको बताए ।
जेपीटी क्रिएसनको ब्यानरमा नवीन श्रेष्ठले निर्माण गरेको ‘लाज शरणम्’ को पटकथा निर्देशक कुमारले दीपक आचार्यसँग मिलेर तयार पारेका हुन् । फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरिरहेका छन् भने छायांकन सुदीप बरालले गरेका हुन् ।
