नयाँ पुस्तासँगै सुरु भयो 'पलेँटी' 

माघ २०, २०८१

कान्तिपुर संवाददाता

'Plenty' started with the new generation

काठमाडौँ — 'पलेँटी' श्रृंखला फेरि सुरु भएको छ । नेपालयले संचालन गर्दै आइरहेको यो सांगीतिक कार्यक्रम यसअघि कोभिडले अवरुद्ध थियो । गायक/संगीतकार पलेँटी संयोजक आभासका अनुसार नयाँ पुस्ताका प्रतिभाका प्रस्तुतिसँगै अवरुद्ध भएको करिव ६ वर्षपछि 'पलेँटी' सुरु भएको हो ।

कालिकास्थानमा अवस्थित नेपालयको कार्यलयमाको 'आर कार्यशाला'मा अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीको २ घण्टाको सांगीतिक प्रस्तुतिबाट पलेँटी औपचारिक रुपमा सुरु भएको छ ।

अभिज्ञा र बेनुपले यसअघि पलेँटीमा प्रस्तुति दिइसकेका दिवंगत गायक/गायिकाको श्रद्धाञ्जली स्वरुप प्रस्तुति दिएका हुन् । फत्तेमान, कुमार सुब्बा, प्रेमध्वज, भीम बिराग, अमर गुरुङ, योगेश वैद्य, राममान तृषित, माधवप्रसाद घिमिरे, मीरा थापा, बिनोद स्याङ्देनलगायतलाई दुईले आफ्ना प्रस्तुतिमार्फत श्रद्धाञ्जली दिए । पलेँटी श्रंखलामा यसअघि ५६ गायक/गायिकाले सांगीतिक प्रस्तुति दिइसकेका छन् । पलेँटीसँग आवद्ध भएर दिवंगत भएका ११ जना गायक/गायिका र संगीतकारको सम्झना गर्दै 'फूल' शीर्षकमा प्रस्तुति भएका थिए । 

हुन त यसबीच पनि पलेँटी श्रंखला छिटपुट भइरहेकै थियो । तर, अब भने अंग्रेजी महिनाको अन्तिम शुक्रबार श्रंखला गर्ने लक्ष्यसहित सुचारी भएको हो । 'शुक्रबार र शनिबारको कार्यक्रममा हाम्रा लगातार आइरहने दर्शकलाई निम्तो गरेर कार्यक्रम गर्‍यौं । अब भने टिकेट सो हुन्छ,'आभासले भने,'यो कार्यक्रम विशेष त पलेँटीमा आबद्ध भएर दिवंगत हुनु भएका कलाकारलाई सम्झेर गरेका हौं' । २० औं वर्षमा टेकेसँगै अबदेखि हरेक महिना यो श्रंखला सुरु गर्ने प्रण आयोजक संस्था नेपालयको छ । 

शुक्रबार र शनिबारको प्रस्तुतिमा अधिकांश गीत फूलसँग सम्बन्धित थिए । फूलमाथि आभासले निबन्ध पनि लेखेका थिए । त्यही निबन्धको वाचनसँगै प्रस्तुति गरिएको थियो । गीति निबन्ध शैलीमा आफूहरुले यो पटक पलेँटीको सुरुआत गरेको आभास सुनाउँछन् । निबन्ध तीनै दिवंगत कलाकारसम्बन्धी थियो । शनिबार र शुक्रबारको कार्यक्रममा ९० भन्दा बढी दर्शक उपस्थित थिए । पलेँटीको यो श्रृंखला 'आर शाला'मा आयोजित थियो । अंग्रेजी शब्द 'आर'को अर्थ रिहर्सल हो । त्यही हलमा अबदेखि पलेँटी आयोजना हुनेछ । 

नेपाली आधुनिक संगीतलाई पलेँटी आफ्नो विधा बनाउँदै आएको छ । सन् २००५ मा स्थापना हुँदा आभासले यो प्लेटफर्म आफ्ना लागि खोलेका थिए । २००५ मा वर्षभरि आभासले आफ्नो मात्रै प्रस्तुति दिएका थिए । सन् २००६ देखि भने नेपाल बाहिर र भित्रका पूराना कलाकारहरुका लागि पलेँटी प्लेटफर्म बन्यो । जहाँ कुनै बेला गीत गाएर चर्चा कमाइसकेका तर छायाँमा परेका पूराना कलाकारलाई पलेँटीले मञ्च दिँदै आएको हो ।

'नेपाली आधुनिक संगीत हामीले पहिल्यैदेखि सुन्दै आएको विधा हो । यो संगीत मौलिक र सिर्जनशील रचना हो । यसमा साहित्य र संगीत पनि हुने भयो । म त्यही विधामा लागिरहेको हुनाले म एक्लैले यो अभियान चल्दैन भनेर सोचेपछि नेपालयसँग मिलेर यो श्रंखला सुरु गरेका हौं,' आभास पलेँटी स्थापनाको गर्दाको क्षण सम्झन्छन् ।

नेपालयसँग मिलेर पलेँटी सुरु गर्दा सुरुवातमा फत्तेमानले प्रस्तुति दिएका थिए । त्यतिबेला आभास पनि बाहिरका मञ्चमा कमै निस्कन्थे, साधनामै लिप्त हुन्थे । त्यतिबेला नेपालयले नै यसरी पूराना कलाकारलाई मञ्च दिने आइडिया सुझाएसँगै पलेँटी सुरु भयो । यी पूराना कलाकारलाई पलेँटीमा संयोजन गर्ने जिम्मेवारी भने आभासले पूरा गरेका हुन् ।

'नेपालको आधुनिक संगीतमा मञ्चमा गाउने खासै चलन थिएन । तर, पलेँटीमा उहाँहरुले सोलो प्रस्तुति दिन पाउनु भयो । उहाँहरुलाई सुरुमा त्यसका लागि मनाउन गाह्रो पर्‍यो । तर, विस्तारै कलाकारहरु आफै पनि तयार हुनुभयो,'आभासले भने । अब भने नयाँ पुस्तालाई पूरानो पुस्तासँग जोड्ने उदेश्यले मञ्चमा नयाँ पुस्तालाई पनि प्रस्तुतिका लागि अवसर दिइने आभास सुनाउँछन् । 

कान्तिपुर

Link copied successfully