विराटनगर — अहिले उनी कहाँ छन् ? धेरै श्राेता बेखबर हुन सक्छन् । तर, उनकै स्वरमा बेलाबखत गुन्जिने गीत ‘कहाँ छौ कहाँ’ संगीतप्रेमीहरूको कण्ठमा बसिरहेको छ । उनीहरूलाई थाहा छ, ‘यो फिल्म ‘गोपीकृष्ण’का लोकप्रिय गीतमध्येको एक हो ।’
पुराना दिनका स्मृतिमा फर्किएका गीतका गायक रामा मण्डल त्यो उदेकलाग्दो झुपडीमा अचानक झुल्किएको खुसी सम्झन्छन् । विराटनगरमा दुःखजिलो गरेर बनाएको घरको कुनामा उनी बसिरहेका थिए । रेडियो नेपाल बजिरहेको थियो । एक्कासि रेडियोमा नयाँ गीत सिफारिस गरियो, ‘अब सुन्नुहोस् साधना सरगम र रामा मण्डलको आवाजमा नेपाली चलचित्र गोपीकृष्णको गीत ‘कहाँ छौ कहाँ.....।’
एकछिन त रनभुल्लमा परे । अनि कान चनाखो पारे । ठम्याए, ‘आवाज आफ्नै गुन्जिरहेको छ ।’ त्यसपछि त उनी खुसीले एक बित्ता उफ्रिए । रेडियो बोकेर बाटैबाटो दौडिए । छिमेकीहरूको नजिक पुग्दै भने, ‘मेरो गीत बज्दैछ, सुन्नु सुन्नु ।’
विपना सपनाझैं लागिरहेको थियो, रामालाई । सोचेका थिएनन्, यस्तो नतिजा आउला । सोचका थिएनन्, रेडियो नेपालमै बज्ला । ‘त्यसबेला म खुसीले पागलजस्तै भएँ,’ अविस्मरणीय पललाई पल्टाउँदै उनी भन्छन् ।
०००
काठमाडौं उनका लागि संघर्षभूमि थियो । जहाँ हर दिन उनी गायक बन्ने सपनाका लागि दौडन्थे । संघर्षकै क्रममा उनलाई फिल्म ‘मनकामना’मा गीत गाउने अवसर जुर्यो । फिल्ममा दुईवटा गीत गाए । गीतले सिनेक्षेत्रका निर्माता र निर्देशकहरूको नजर तान्यो । ‘विराटनगरकै पुराना बासिन्दा उद्धव पौडेलले ‘गोपीकृष्ण’ नामको नयाँ फिल्म बनाउने घोषणा गर्नुभयो । मलाई उहाँले गीतको प्रस्ताव गर्नुभयो,’ उनी सम्झन्छन् ।
२०४८ सालतिर उद्धव पौडेल, संगीतकार भूपेन्द्र राजमाझीको परिवार र गायिका लोचन भट्टराईसहित रामा पनि गीत रेकर्डका निम्ति बम्बई (मुम्बई) हान्निए ।
रामाको भागमा परेको गीत थियो, ‘माया आफैँ चोखो हुन्छ, कुनै बन्धन हुँदैन...।’ तर रामालाई धनेन्द्र विमलले लेखेको ‘कहाँ छौ कहाँ’ गीतले तानेको थियो । गाउन मन पनि त्यही थियो । ‘तर, निर्देशक र संगीतकार मप्रति विश्वस्त हुन सक्नुभएको थिएन,’ उनी सम्झन्छन् ।
उद्धव र भूपेन्द्र त्यो गीत कुमार सानुलाई गाउन लगाउन चाहन्थे । रामाले उद्धवलाई भने, ‘डाइरेक्टर साब, मलाई राम्रो गीत गाउन दिनुहोला ।’ उनलाई भर दिँदै भूपेन्द्रकी श्रीमतीले थपिन्, ‘बाबुलाई सुट हुने गीत त कहाँ छौ कहाँ नै हो ।’ उद्धवले भने, ‘त्यो त संगीतकार भूपेन्द्रलाई थाहा छ । उसले के भन्छ, त्यही गर न !’ उद्धवले शंका व्यक्त गरे, ‘ यो एकदमै गाह्रो गीत हो । बिग्रियो भने तिम्रो मिहिनेत पनि खेर जान सक्छ ।’
रामाले तत्कालै जवाफ फर्काए, ‘सक्छु । म प्राक्टिस गर्छु ।’
उनले रेल यात्राभरि त्यो गीत अभ्यास गरिरहे । तर उनले गाउने, नगाउने टुंगो लाग्न बाँकी नै थियो ।
रामा त्यसमा अभ्यस्त भइसकेका थिए । त्यसपछि कुमार सानुले गाउने भनेको त्यो गीत रामाले एकै टेकमा रेकर्ड गराए । निर्देशक र संगीतकार चकित भए । ‘पत्यारै नलागेको मान्छेले यति मीठो गीत गायो,’ उनीहरूले प्रशंसा गर्दै भने ।
रामा पनि पहिलो पटक बम्बई पुगेर गीत रेकर्ड गर्न पाउँदा औधि खुसी भए । ‘त्यसमाथि कुमार सानुले गाउन लागेको गीत आफैंले गाउन पाएकामा झन् खुसी भएँ,’ उनी सुनाउँछन् ।
त्यो गीत रामा र साधना सरगमको युगल आवाजमा रेकर्ड भएको थियो । उनको भागमा परेको गीत भने पछि उदितनारायण झाले गाए ।
