काठमाडौँ — लामो समयदेखि चर्चामा रहेको फिल्म 'जार' आगामी वैशाख २६ देखि प्रदर्शनमा आउने भएको छ । फिल्म बनेको करिव ३ वर्षपछि निर्माण टिमले 'जार'को प्रदर्शन तय गरेको हो ।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यो फिल्मको प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार खरिद गरेको छ । अन्तर्राष्ट्रिय वितरकको रुपमा सेभेन सिज सिनेमा अनुबन्ध भएको छ । यसै साता वितरण कम्पनिहरूसँग सम्झौतापछि निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
फिल्ममा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापा छन् । फूर्वा छिरिङ लामाको निर्देशनमा तयार यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो । फिल्ममा अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाटै सहभागि रहेको जनाइएको छ । सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनामै यो फिल्म तयार भएको हो ।
फिल्ममा सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन, झुमा लिम्बू र गंगा थापाको संगीत छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि फिल्म एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।
