काठमाडौँ — लगातार फिल्महरू बक्स अफिसमा ‘फ्लप’ भइरहँदा कलाकारहरू निराश हुन्छन् । कि त उनीहरूले फिल्म कमै छनोट गर्छन् कि लामो समय विश्राम लिने निर्णयमा पुग्छन् । बलिउड अभिनेता शाहरुख खान, आमिर खान लगायत थुप्रै अभिनेताको हकमा पनि त्यही भयो । तर अभिनेता अक्षय कुमारको हकमा भने यो कुरा लागू भएन ।
लगातार १० वटा फिल्म फ्लप हुँदा पनि उनी हच्किएका छैनन् ।
पछिल्ला वर्षहरूमा अक्षयको फिल्म यात्रा व्यापारको हिसाबमा सफल छैन । ‘वच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षा बन्धन, राम सेतु, सेल्फी, मिशन रानीगञ्ज, बडे मियाँ छोटे मियाँ, सरफिरा, खेल खेल में र सिंघम अगेन‘ जस्ता फिल्महरूले बक्स अफिसमा राम्रो कमाइ गरेनन् ।
लगातार फिल्महरू फ्लप हुँदा पनि अक्षय नयाँ कामका लागि यसलाई प्रेरणाकै रुपमा लिन्छन् । भारतीय सञ्चारमाध्यमसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘फिल्म फ्लप हुँदैमा म रोकिन्न । यो मेरो नयाँ फिल्मका लागि प्रेरणा बनिदिन्छ । म काममा सधैँ इमान्दार छु । दर्शकको मन जित्न कहिल्यै पछि हटेको छैन ।’
उसो त अक्षयका फिल्महरू एकपछि अर्को निरन्तर आइरहन्छन् । उनले पछिल्लो समय कमसल फिल्म खेलेको आरोप पनि समीक्षकहरूको छ ।
हुन त उनले कुनै समय पैसा कमाउन आफूले जस्तोसुकै भूमिका गर्न सक्ने अभिव्यक्ति पनि दिएका थिए । भनेका थिए, ‘मानिसहरू मलाई वर्षमा कति धेरै फिल्म गरेको भन्छन् तर मैले जीवनका तीन कुरालाई बुझिसकें- काम, कमाइ र कर्म । म कमाउनका लागि निकै मेहनत गरिरहेको हुन्छु । मकहाँ आउने कुनै पनि कामलाई मैले अहिलेसम्म नाइँ भनेको छैन ।’
आजबाट उनको नयाँ फिल्म ‘स्काई फोर्स’ आजबाट रिलिज भएको छ । यो फिल्म भारतीय वायु सेनाको एक सत्य घटनामा आधारित छ । अक्षयले वायु सेनाको अधिकारीको भूमिकामा अभिनय गरेका छन् । सामाजिक सञ्जालमा अक्षयले पोस्टर सेयर गर्दै सत्य घटनामा आधारित फिल्मले आफूलाई सधैँ आकर्षित गर्ने बताएका छन् । ‘मैले १ सय ५० भन्दा बढी फिल्ममा काम गरिसकेको छु । तर सत्य घटनामा आधारित फिल्मले मलाई सधैं आकर्षित गर्छ,’ उनले लेखेका छन् ।
भारतीय रुपैयाँ ८० करोडमा बनेको यो फिल्मबाट अक्षयलाई भने आशा छ । लगातार फिल्म भइरहेको बेला उनको लागि यो फिल्म ‘गेम चेन्जर’ बन्ला त ? त्यो भने हेर्न बाँकी छ ।
