केकीदेखि समापिकासम्म डार्क सिनेमामा

माघ १०, २०८१

कान्तिपुर संवाददाता

From Keiki to the finale in dark cinema

काठमाडौँ — सन् २०११मै नीर विक्रम शाह निर्देशित हरर-थ्रिलर सिनेमा ‘मसान’मा अभिनीत केकी अधिकारी पछिल्लो समय सुलक्षण भारतीको साइको-सोसियो थ्रिलर ‘बोक्सीको घर’मा देखिइन् । त्यसपछि, ‘बाटो’ नामको हरर ड्रामामा अघिल्लो पुस्ताकी अभिनेत्री मिथिला शर्मासँगै नयाँ पुस्ताकी रक्षा थापा पनि देखिइन् । 

सिनियर अभिनेत्री मिथिला धेरै अघिदेखि डार्क फिल्महरूमा देखिइरहेकी हुन् । तर, पछिल्लो समय नयाँ पुस्ताका अभिनेत्रीहरू पनि हरर, थ्रिलरजस्ता ‘गथिक’ फिल्म खेल्न मन पराइरहेका छन् । 

छिरिङ रितार शेर्पा निर्देशित सन् २००० को ‘मुकुण्डो’मा ‘गथिक’ पात्रको चरित्रमा देखिएकी मिथिला २०२१ को भिमसेन लामा निर्देशित हरर फिल्म ‘कठपुतली’ र २०२३ को इयान स्कट क्लेमेन्टको साइको थ्रिलर ‘बसेन्जी’ मा पनि देखिएकी छन् । त्यसो त, २००८ को भूषण दाहाल निर्देशित हरर ड्रामा ‘कागबेनी’मा दिया मास्केले काम गरेकी छन् । मास्के अर्की अभिनेत्री मेनुका प्रधानको साथमा हरर फिल्म ‘एक दिन एक रात’मा पनि देखिएकी छन् । २०११ मा बनेको यो फिल्म देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । 

देव कुमारको यस फिल्ममा बाहेक मेनुका प्रधानलाई पासाङ लामाको ‘झिग्राना’ -२०१५_ र अराज केशव गिरीको जालो' (२०१८) मा पनि देख्न सकिन्छ । जालोभन्दा अगाडि दिनेश राउतको हरर फिल्म २०१७ को ‘पर्व’मा नम्रता श्रेष्ठले पनि काम गरिसकेकी छन् । अभिनेत्री ऋचा शर्माले त आफ्नै निर्माणको हरर ड्रामा ‘सुनकेशरी’ -२०१८_ र राजहर्षी डे को बेङ्गाली थ्रिलर ‘मया’ -२०२३_मा पनि काम गरिसकेकी छन् । 

२०२३ कै इयान स्कट क्लेमेन्टको साइको थ्रिलर नेपाली सिनेमा ‘बसेन्जी’ मा सिनियर अभिनेत्री मिथिला शर्मासँगै नयाँ पुस्ताकी अभिनेत्री समापिका गौतम पनि देखिएकी छन् । अभिनेत्री गौतम हालै सार्वजनिक भएको आगामी सिनेमा ‘खेल’को थ्रिलिङ टिजरमा सुरक्षा पन्तसँग पनि देखिएकी छन् । सुरक्षाले भने यसअघि अर्पण थापा निर्देशित हरर सिनेमा ‘घर’ -२०१९_ मा पनि काम गरिसकेकी छन् । बसेन्जी निर्देशक इयान स्कटले यो भन्दाअघि सन् २०२० मा पनि नेपाली सिनेमा ‘म्याङ्गो पिकल’को निर्देशन गरिसकेका छन् । जसमा थिएटरकी अब्बल अभिनेत्री सरिता गिरीलाई देख्न सकिन्छ । 

यस्तै, अभिनेत्री प्रियंका कार्की पनि समर निरौलाको निर्देशन रहेको हरर फिल्म ‘मम्मी’मा देखिने भएकी छन् । फिल्मको टिजरमा कार्कीसँगै ‘कागबेनी’की अभिनेत्री दिया मास्केलाई पनि देख्न सकिन्छ ।

कान्तिपुर

Link copied successfully