नारीवादबारे प्रदर्शनी हुँदै

माघ १०, २०८१

कान्तिपुर संवाददाता

An exhibition about feminism

काठमाडौँ — तारागाउँ सांस्कृतिक केन्द्रले सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा बृहत् कला प्रदर्शनी गर्दै छ । माघ १२ देखि सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन् । 

अर्सिया लोखन्डवालाको परिकल्पनामा हुने ‘फेमिनिस्ट फ्युचर्स : आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्नेछ । दुई दिनसम्म चल्ने प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैंगिक राजनीतिजस्ता विषयसमेत समेट्ने जनाइएको छ ।

प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलंका, पाकिस्तान र बंगलादेशका १/१ जना महिला कलाकारका सिर्जना समावेश गरिनेछ । आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन पनि सहभागि हुनेछन् । नेपालका अस्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपिका सिर्जना प्रदर्शनीमा राखिनेछन् ।

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयासस्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता सराफले बताइन् ।

कान्तिपुर

Link copied successfully