काठमाडौँ — यो वर्षका तीन फिल्म हुन्– ‘बोक्सीको घर’, ‘बाटो’ र ‘ममी’ । कथावस्तु फरक भए पनि तीनै फिल्मको एउटै समानता हो– त्रास । ‘गथिक’ तत्व तीनै फिल्मका बलिया पक्ष हुन् ।
प्रदर्शनको छेकोमा रहेको समर निरौला निर्देशित फिल्म ‘ममी’को मंगलबारमात्रै ट्रेलर सार्वजनिक भयो । ट्रेलरमा पात्रहरू कुनै अदृश्य शक्तिको त्रासमा रुमल्लिएका छन् । मदन थापा निर्देशित ‘बाटो’ पनि यात्रामा जोडिने त्राससँग सम्बन्धित छ ।
‘बोक्सीको घर’मा समाजको रुढीवादी प्रथाविरुद्धको कथावाचन डार्क र भयजडित छ । यी तीनै फिल्मको कनेक्सन पात्र हुन्– सुलक्षण भारती ।सुलक्षण ‘बोक्सीको घर’का निर्देशक हुन् । अनि ‘बाटो’ र ‘ममी’का अभिनेता । एकै वर्ष उस्तै प्रकृतिका फिल्म खेल्नु सुलक्षणका लागि रुचि थियो कि संयोग ?
उनको ठम्याइ छ, ‘यो त भवितव्य हो ।’
‘हरर’ वा ‘डार्क’ फिल्ममा काम गर्ने उनको रहर हैन । रुची त पात्र र कथामा हो । ‘त्यसमा पनि म फरक-फरक चरित्रमा काम गर्न मन पराउँछु । पात्रहरूको विविधता मेरो रहर हो,’ उनी भन्छन् ।
यही वर्ष सुलक्षणका हकमा अर्को संयोग पनि जुर्यो । ‘बोक्सीको घर’बाट उनले डेब्यू निर्देशकको बलियो परिचय बनाए । साथै, एउटा डेब्यू निर्देशकले अभिनेताका रुपमा पनि डेब्यू निर्देशक नै रोजे । यसपालि मदनले ‘बाटो’ र समरले ‘ममी’बाट फिल्म जगतमा पदार्पण गरे । निर्देशकका रुपमा हिँडेका अफ्ठ्यारा बाटाहरूबारे उनीहरूलाई सेयर गरे । ‘आफूलाई जस्तो अफ्ठ्यारो नहोस् भन्ने हेतुले,’ उनी सुनाउँछन् ।
उनलाई काम पनि पुरानाभन्दा नयाँसँगै गर्नुछ । ‘नयाँहरू अपडेटेड हुन्छन्, पारदर्शी हुन्छन् अनि ऊर्जाशील पनि,’ कारणबारे उनी भन्छन्, ‘मैले पनि धेरै कुरा सिक्न सक्छु उनीहरूबाट ।’ तर नयाँबाट पाउने त्यही कुरा उनी पुराना मेकरहरूबाट पाउन्नन् । ‘पुरानाहरूलाई त फेस भ्यालू चाहिन्छ । नयाँहरूलाई काम गर्ने मान्छे,’ उनी तुलना गर्छन् ।
त्यसकारण पनि सुलक्षण नयाँ पुस्ताका विलक्षण निर्देशकहरूको खोजी गरिरहन्छन् । ‘भलै फिल्म नचले पनि मदनले बाटोमा प्रमाणित गरे । समरले ममीबाट गर्दैछन्,’ उनी भन्छन् ।
‘ममी’को प्रस्तावसँगै सुलक्षणलाई ठूलो ब्यानरको कमर्सियल फिल्मबाट प्रस्ताव आएको थियो । पारिश्रमिक पनि ‘ममी’भन्दा चारगुणा बढी । उनले मोटो पारिश्रमिमको लोभ गरेनन् । बरु लोभ कथा र पात्रमा गरे । अनि रोजे ‘ममी’ । ‘ममीको पात्र एकदम जटिल मनोविज्ञानबाट गुज्रिरहेको थियो । यस्तो पात्र पहिलो पटक भेटेँ । अनि फिल्म छानेँ,’ सुलक्षण भन्छन् ।
बाँच्नका लागि पैसा त चाहिन्छ । तर पैसाकै लागि कलामा सम्झौता नगर्ने प्रण सुलक्षणको छ । उनलाई लाग्छ, ‘पैसा त आउला । तर राम्रा काम र प्रस्तावहरू बारबार आउन्नन् ।’ सम्भावना बोकेका नयाँ मेकरलाई सहयोग गर्नु पनि दायित्व सम्झन्छन् उनी । ‘त्यसैले ममीमा मैले वर्किङ रकम भन्दा बढी लिइनँ । कथा मन परेर सहयोग गरेँ,’ उनी भन्छन् ।
सुलक्षणले निर्वाह गरेको ‘ममी’को पात्रलाई चियाएर हेर्नुपर्छ । ‘यो पात्र समाजमा लुकेर बसेको छ,’ उनी सुनाउँछन्, ‘ त्यो पात्र खुलेर अगाडि आउँदैन । उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक छ ।’ त्यो पात्रको जीवन बाँच्न पाउँदा आएको आनन्द पनि उनी सेयर गर्छन् । पात्रमा सिन्चित गरेको ती क्षण सम्झँदै भन्छन्, ‘मेरा लागि बेग्लै अनुभूति रह्यो ।’
फरक र नयाँ काम गर्ने निर्देशकहरूसँग हुटहुटी हुन्छ । सँगै चुनौतीको चाङ पनि । ‘बोक्सीको घर’कै अनुभवलाई लिएर उनी भन्छन्, ‘निर्देशकका रुपमा गरेको परिकल्पना पर्दामा उतार्न गाह्रो छ । यसमा बजेटले अर्थ राख्ने रहेछ ।’ कलाकारको रुपमा देखेको चुनौतीचाहिँ फरक छ । किनकि आइरहेका कथाहरू नयाँ हुन्नन् । दोहोरिने चरित्रमा त काम गर्दा पनि सन्तुष्ट मिल्दैन ।
अहिले सुलक्षणले खेपिरहेको चुनौती नै काम हो । ‘मलाई अरु कलाकालरलाई जस्तो धेरै फिल्मको अफर आउँदैन । आएका मध्येबाट पनि छनोट गर्नुपर्दा अफ्ठ्यारो छ,’ उनी भन्छन् । उनले अभिनय गरेको फिल्म आउँदा धेरै निर्देशक/निर्माताले फोन गरेर बधाई दिए । तर काम दिएनन् । उनको गुनासो पनि त्यही छ । ‘बधाई र तारिफ दिनेहरूले कामचाहिँ किन दिएनन्?’ उनको प्रश्न छ । राम्रा कामहरूको प्रतीक्षा गरिरहँदा आफ्नो हातसम्म नआइपुग्दा दिक्क छन् उनी । त्यतिबेला लाग्नेरहेछ, ‘काम जानेर भन्दा पनि मान्छे चिनेर अफर आउँछ ।’
अभिनेताका रुपमा मात्र हैन, बक्स अफिसमा आफ्नो फिल्म हिट भएपछि पनि कुनै राम्रा फिल्मका लागि प्रस्ताव नआएकोमा उनी चकित छन् । कोही आफ्नै डिभोर्सको कथा बोकेर आउँछन् । भन्छन्, ‘यसमा फिल्म गर्नुपर्यो ।’ कोही ‘बोक्सीको घर’जस्तै फिल्म बनाउनुपर्यो भन्दै आउँछन् । कोही मोटो रकम देखाएर विदेश बोलाउँछन् । जो जो आउँछन् फिल्मलाई गम्भीर नलिनेहरू आउँछन् । गम्भीर निर्माताहरू उनीसम्म आइपुग्दैनन् । ‘१४ वटा स्क्रिप्ट छ म आफैँसँग । त्यो पनि फरक विधाका । कथा खोज्दै कोही आइपुग्दैनन्,’ उनी भन्छन् ।
झण्डै डेढ दशक ‘बन्द कोठा’मा बिताएका सुलक्षणका लागि फिल्म जगत नयाँ पनि हो । १४ वर्षको उमेरदेखि नाटक गर्न थालेका उनीसँग उबेलैदेखि अभिनयको भोक थियो । त्यो भोक मोडलिङ हुँदै थिएटरमा पुग्यो । आफूले खडा गरेको ‘पुरानो घर’का आला कथाहरू थुप्रै छन् । १७ वर्ष बिताएको रंगमञ्चमा उनले दुई दर्जन बढी नाटक निर्देशन गरे । दर्जनौँ अभिनय गरे । १५ वटा त नाटक लेखे नै । अहिले आफूले लेखेका ती नाटकहरूको आयु सम्झेर पनि चिन्ता लाग्छ उनलाई । ‘यी यसै हराएर पो जान्छन् कि । नयाँ पुस्ताका दस्ताबेज यी नाटक आफ्नो आयुभन्दा बढी पो बाँच्दैनन् कि,’ उनी सोचमग्न हुन्छ ।
बल्लतल्ल पैसा जुटाएर नाटक गर्नु, तर कमाएको पैसा हलभाडा र कलाकारको पारिश्रमिकमै सकिनु । ती ऋणहरूको बक्यौताका बेग्लै ब्यथा छन् । यद्यपि नाटकहरू नै नबाँच्लान् कि भन्ने चिन्ता छ उनलाई । पहिला-पहिला त नाटक पुस्तक भएर निस्कन्थे । अहिले त निजी प्रकाशनले त्यो जोखिम मोल्न चाहन्नन् । ‘प्रज्ञा प्रतिष्ठानले छाप्न पार्टीको झण्डा बोक्नुपर्यो । तर मैले अहिलेसम्म गरेको छैन,’ सुलक्षण भन्छन् ।
यावत् चिन्ता र गुनासा रहे पनि सुलक्षणलाई फिल्म गर्नुछ । चाहे त्यो अभिनेता भएर होस् वा लेखक/ निर्देशक । संवादको बिट मार्दै उनी भन्छन्, ‘अहिले म राम्रा फिल्मको प्रतीक्षा गरिरहेको छु ।’
