काठमाडौँ — भुटानी शरणार्थीको कथामा फिल्म ‘ल्हो–छाम्पा’ निर्माण हुने भएको छ । उक्त फिल्मलाई नरेशकुमार केसीले निर्देशन गर्दैछन् । फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा रहनेछ ।
फिल्ममा सन् १९९० को दशकमा भुटानबाट विस्थापित भएका नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धको कथा समावेश हुनेछ । ‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो । फिल्मलाई अर्जुन सुवेदीले निर्माण गर्नेछन् ।
फिल्मका निर्देशक केसीको यो तेस्रो फिल्म हुनेछ । यसअघि उनले ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ निर्देशन गरिसकेका छन् । केसीका अनुसार यो फिल्मले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई प्रस्तुत गर्नेछ । ‘मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले पछ्याइरहन्छ । यो चलचित्रले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ,’नरेशले भने । फिल्ममा अर्जुनको पोखरेलको संगीत रहनेछ ।
