तिमी आउनु त्यही बाटो, अरु आउनु साटो...

गायक सुजन चापागाईंले लोक र शास्त्रीय मिश्रित स्वरमा छुट्टै पहिचान बनाएका छन्

माघ ३, २०८१

रीना मोक्तान

You come that way, instead of others...

काठमाडौँ — सहजै गुनगुनाउन सकिने गीतहरूको भीडमा एउटा पृथक् आवाज । लोक र शास्त्रीय मिश्रित यो स्वर आफैंमा एउटा लय हो, धुन हो । सुरसँग सुजनले मितेरी गाँसिसके, तालसँग मित्रता ! यही सुर र तालको गहिरो साधनाबाट जन्मिएका गायक हुन्, सुजन चापागाईं ।

उनी युट्युब ट्रेन्डिङदेखि टिकटक लक्षित गरेर गीत बनाउँदैनन् । आफूलाई मनपर्ने गीत बनाउँछन्, गाउँछन् । कलामा हुनुपर्ने यस्तै तत्त्वले उनका गीत महिनौंसम्म युट्युब–टिकटकका ट्रेन्डिङमा पुग्छ । यी गीतले बिस्तारै हृदय–मस्तिष्क छुन्छ अनि महिनौंसम्म त्यही स्वाद जनजिब्रोमा अल्झिरहन्छ ।

एक महिनाअघि सुजनकै युट्युब च्यानलबाट बजारमा आएको ‘एक्लै भएनी’ ताजा उदाहरण हो । ‘स्याड भर्सन’ को यो गीतले एक महिनादेखि दर्शकको मन रुवाइरहेको छ । दुखेका मनहरू गीतका शब्द र भावमा समानुभूत हुन्छन् । सुजन आबद्ध ‘आर्टमान्डु’ ले अपनाउँदै आएको नौलो शैली हो– पहिला भिडियो खिच्ने अनि मात्र गीत लेख्ने । यही शैली नै ‘एक्लै भएनी’ मा पछ्याइएको छ ।

प्रेम वियोग, लामो दूरीका सम्बन्धले ल्याउने फाटो देखाउन यो गीतको भिडियो पहिला खिचिएको थियो । यही खिचिसकेको भिडियो हेर्दै गीतकार हर्क साउदले गीतका शब्द लेखे, सुजनले त्यसमा संगीत भरेर आवाज दिए । गीत बन्न ६ महिना लाग्यो । ‘हेर्दा यो गीत हामीले गरिरहेको गीतभन्दा फरक शैलीको देखिन्छ । गीत बनाउन समय पनि लाग्यो । गीत स्याड छ, फिलिङको पनि कुरा हुन्छ, यो त मेरो मात्र कथा होइन । साइग्रेसको मेरो अधुरो प्रेमका मीठा तत्त्वहरू मिसाइएका छन्,’ सुजन गीत निर्माणको समय सम्झन्छन् । 

यो गीतमा सुजनले दुखेको हृदय, पीडाभावलाई स्वरमार्फत प्रस्तुत गरेका छन् । गीतको अन्त्यमा तानिएको ‘हाइनोट’ मा त्यो पीडा बेस्सरी पोखिएको छ । त्यसका लागि सुटिङकै समयमा पनि उनले त्यो भावहरू बटुलेका थिए ।

रेकर्डिङको समयमा त्यसलाई व्यक्त गरिदिए । ‘इस्टर्न क्लासिकल’ संगीतलाई नेपाली दर्शकले त्यति चाख्न पाएका छैनन् भन्ने सुजनलाई लागिरहन्थ्यो । त्यही स्वाद पस्कने सोचसहित आवाजलाई त्यो नोटमा गीत गाइदिए । दुखेको मनको पीडा, गहिराइ र रोदनसम्मको भावमा पुग्दा स्वर्गीय आनन्द मिल्यो । 

शास्त्रीय संगीतको यस्तै स्वाद नै सुजनको पहिचान हो । अहिले यो गीतका भावमा दर्शकले आफूलाई भेटेका छन्, अन्तरसम्बन्धित पाएका छन् । ‘कुनै व्यक्ति चरम पीडामा हुँदा उसले कस्तो अनुभव गर्छ त ? त्यही पीडालाई सुजनले हाइनोटमा गाउँदै आफ्नो गायकीमार्फत व्यक्त गरिदिएका छन् । स्याड भर्सनको यो गीत गाउँदै सुजनले आफूलाई भर्सटाइल सावित गरेका छन् । उसको आवाज रमाइलो शैलीका, रोमान्सदेखि स्याड भर्सनको गीतमा उत्तिकै फिट सुनिन्छ,’ गीतकार हर्क सुजन तारिफ गर्छन् ।

अहिले सुजन दुई गीतले गद्गद् छन् । एउटा ‘एक्लै भएनी’, अर्को ‘मखमली’ । फिल्म ‘ऊनको स्वीटर’ मा समावेश यो गीत कौडा शैलीमा बनेको छ । फिल्मको कथा, परिस्थिति र पात्रहरूसहित संस्कृतिका पक्षहरू केलाउँदै ‘मखमली’ तयार पारिएको हो ।

You come that way, instead of others...

‘मखमली चोलीमाथि, छड्के लायौ घलेकी– रूपै सुन्दर मेरी हजुर धपक्कै बलेकी’ गीतका यी पंक्ति अहिले दर्शकबीच अत्यधिक रुचाइएको छ । सुजन ‘ऊनको स्वीटर’ सहित सन्तोष सेनको फिल्म ‘बलिदान’ मा पनि संगीत सम्हालिरहेका छन् । 

फिल्ममा संगीत निर्देशक हुँदा, पर्दामा देखिने पात्र, परिस्थितिलाई संगीतमार्फत उठाउनुपर्ने जिम्मा संगीत सम्हाल्नेहरूकै भागमा पर्ने सुजनको अनुभव छ । फिल्मको संगीत गर्दा छुट्टै मज्जा हुने सुजन बताउँछन् । पर्दामा देखिने पात्र आफू बनेर, ती पात्रको भावमा डुबेर संगीत गर्दा बेग्लै अनुभव भइहाल्छ नै ।

पात्र मात्रै नभई कथाको थिमअनुसारका संगीत, पार्श्व संगीतमा संगीत निर्देशकले फिल्ममा काम गर्नुपर्ने बुझाइ बढ्दै गएको छ । ‘फिल्ममा त ३ घण्टाभित्र थुप्रै कथा व्यक्त गर्न सकिन्छ । जसरी कथाहरू बगिरहेका छन्, पात्रहरूले खोजिरहेको न्यायलाई संगीतमार्फत कसरी प्रस्तुत गर्न सक्छु त भनेर काम गर्छु । यसरी काम गर्दा मज्जा हुँदो रहेछ,’ सुजनले हाँस्दै सुनाए । 

दुई फरक विधाका फिल्महरूमा फरक तरिकाले संगीत निर्माण गरेका हुन्, सुजनले । ऊनको स्वीटरमा संस्कृति, प्रेम र मिहिन भावना समाते, ‘बलिदान’ मा देशभक्त भाव, क्रान्ति महसुस गराउने संगीत भरे ।

‘ऊनको स्वीटरमा कोमल बन्छौं, उता बलिदानमा रुखो हुन्छौं । बलिदानमा धेरै कुराको विरोध गर्नुपर्नेछ, क्रान्ति गर्नुपर्ने हुँदा जोसिला गीतहरू तयार गर्‍यौं । बलिदानमा आएका गीतहरू मेरै लागि पनि नयाँ छन्,’ सुजन दुईको भेद छुट्याउँछन् । 

‘ऊनको स्वीटर’ को चर्चा चुलिनुको पछाडि सुजनकै संगीत छ । ‘फूल’ बोलको फिल्मको गीतमा पनि गीतकार हर्क साउदले कवितात्मक शब्दहरू रचेका थिए– ‘तिमीबिना तिमी हुनु, नछोएरै हरदम छुनु’ । त्यो गीतका शब्दहरू मात्रै होइन, कोरसको गायन निकै सुन्दर ढंगले मिसाइएको छ । त्यसमा महिला पात्रको भावना, प्रकृतिलाई सुन्दर शब्दमा व्यक्त गरिएको छ । ‘फूल’ को सुरुवाती स्वरमा सुजनले जुन सुरु समातेका छन्, त्यसमै पनि उनको सशक्त गायकी झल्किन्छ । 

सुजनको यही प्रतिभालाई भने लकडाउनबीच ‘तीनपाते’ बाट दर्शकले देखेका/सुनेका हुन् । यस अर्थमा लकडाउन बिथोल्नै मात्रै आएको थिएन, यसले केही सुन्दर सम्भावना र प्रतिभाहरू चिनायो । ‘आर्टमान्डु’ का निर्देशक नवीन चौहानले उतिबेलै सुजनको आवाजको सम्भावना नापे । ‘तीनपातेअघि ऊ अर्कै गीत गर्न आएको थियो । उसको आवाजको सम्भावना त्यतिबेलै देखिसकेको थिएँ,’ निर्देशक चौहान सुजनसँगको पहिलो सहकार्य सम्झन्छन् ।

खासमा ‘तीनपाते’ मा उनीहरू व्यवसायको कथा देखाउन चाहन्थे । विदेश जानुपर्छ, विदेश जाने बाध्यता हो भन्ने नेपाली समाजमा, आर्टमान्डुले देशमै सम्भावनाहरू देखाउन यो भिडियो बनायो । त्यही कुरालाई शब्दहरूमा व्यक्त गरियो– ‘आफैं मुस्काउ मुसुक्क, जुनतारा टिपी कोही दिँदैन ।’

‘आफ्नो सपनालाई यहीँ बसेर पूरा गर्न सकिन्छ । परिश्रम त जहाँ बसे पनि गर्नुपर्छ । नेपालको व्यवसाय देखाउँदै युवालाई यही देशमा सम्भावना छ भन्ने सन्देश दिने सोचले तीनपातेको कन्सेप्ट तयार गर्‍यौं,’ सुजनले भने, ‘तीनपाते नाम त पछि मात्रै नामकरण गरिएको हो । भिडियोको कन्सेप्ट बनाउँदै गर्दा हर्क दाइले शब्दहरू लेख्दै हुनुहुन्थ्यो । अनि भिडियोको सबै सुटिङ सकेपछि गीतका बाँकी काम सकायौं ।’

‘तीनपाते’ व्यापक चल्छ भन्ने सोचिएकै थिएन । जसरी निर्देशक चौहानले भिडियोमार्फत कथा भन्न चाहन्थे, संगीतमार्फत सुजन पनि आफ्नो संगीतको भाषा दिन चाहन्थे । तर, गीत चल्यो, गीतसँगै सुजन चले । ‘तीनपाते’ पछि भने सुजन दर्शकबीच हिट मात्रै भएनन्, त्यसयता उनले जति गीत गाएका छन् सबै रुचाइएका छन् । सबै गीतहरूको चर्चालाई फर्केर हेर्दा आफूलाई भाग्यमानी ठान्छन्, उनी ।

उनलाई संगीत निर्माणमा हतारो हुँदैन । संगीत निर्माणको त्यो धिमा गतिमै उनी रम्छन् । गीत रिलिजअघिको समय तनावपूर्णजस्तै भए पनि, रिलिजपछि भने एक किसिमको ढुक्क हुन्छ । ‘सार्वजनिक गर्नुअघि गीतमा सबै पक्षबाट हेर्छौं, विचार पुर्‍याउँछौं । चाहे त्यो गीतका शब्द हुन् या संगीत संयोजन । आफ्नै गीतमा म कम्पोजरका रूपमा काम गर्छु । तर, कम्पोजर पछि त म गायक हुन्छु । त्यतिबेला कम्पोज भएर राखिएका कति तत्त्वले गर्दा आफ्नै कम्पोज गाउन गाह्रो हुन्छ । फेरि अभ्यास गर्नुपर्छ,’ सुजन सुनाउँछन्, ‘समय दिँदैमा गीत राम्रो निक्लिन्छ भन्ने होइन, कति कुरा छोटो समयमै हुन्छ । कलालाई समय चाहिन्छ ।’ 

गीत सिर्जना गर्दा उनी संगीतकारका रूपमा संगीत भर्छन्, गायनको तनाव लिँदैनन् । संगीतकारका रूपमा मीठा तत्त्वहरू मिसाउँछन् । त्यसैमा स्वर दिँदा भने आफैंलाई गाउन अप्ठ्यारो परेको अनुभव उनको छ । ‘गीत सार्वजनिक भएपछि एकदमै थकाइ लागेजस्तो हुन्छ । तर दर्शकको प्रतिक्रिया आएपछि खुसी हुन्छौं,’ सुजनले भने ।

You come that way, instead of others...

लोकशैली सुन्ने मन भएकै कारण सुजनले ‘घुमीघुमी’ बनाएका हुन् । झलकमान गन्धर्वका गीतहरूमा उनी त्यो शैलीको मज्जा लिन्थे । तर, बीचमा त्यसको अभाव खट्किरह्यो । त्यसैले आफैंले त्यो शैली मिसाउँदै गीत बनाए । १७ मिनेट लामो यो गीतको भिडियो पनि पहिल्यै तयार भइसकेको थियो । गज्जबको कुरा के छ भने, धिमा शैलीको यो गीतलाई मञ्चमा उति नै समय लिएर सुजनले प्रस्तुति गर्दा यो गीतमा दर्शकले त्यति नै समय एकाग्र भएर मनोरञ्जन लिइरहेका हुन्छन् । 

अस्ट्रेलिया प्रस्तुतिपछि उनले दर्शकहरूलाई गीत लामो लाग्यो कि भनेर सोधेका पनि थिए । तर दर्शकहरूले छक्क पर्दै उल्टै ‘१७ मिनेट पो थियो ?’ भनेपछि उनलाई थप ऊर्जा मिलेको थियो । अस्ट्रेलियाको त्यही प्रस्तुतिबीच नै ‘फूलथुंगे रानी’ सार्वजनिक गरिएको थियो । गीतका शब्द, भिडियो र सुजनको गायकीले यो गीत निकै रुचाइए ।

सुजनलाई लाग्छ, लोकशैलीले नै नेपालका संगीतलाई विश्व बजारमा पुर्‍याउन सकिन्छ । नेपाली माटो, मौलिक संगीतमा विश्व बजारका केही तत्त्व मिसाउँदै नेपाली संगीतलाई विश्व बजारमा पुर्‍याउन सकिने धारणा राख्छन् उनी । ‘हाम्रो संगीतको आत्मा त लोक नै हुनुपर्छजस्तो लाग्छ । लोकले त नेपाली भाका, नेपालीपन झल्किन्छ । त्यसमा अरू रङ, रस मिसाउँदा भइहाल्यो,’ उनले भने, ‘हाम्रो नेपाली संगीतको पहिचान लोक नै हो ।’ 

सुजन आफैं पनि लोक संगीत सुन्दै हुर्केका हुन् । भजन गाउँथे, आमा पनि गाउनुहुन्थ्यो । विद्यालयमा पनि लोकगीत गाउँथे । ‘संगीत गर्न सक्छु कि’ भन्ने भावले नै सुजनलाई संगीत सिक्न लगायो । नेपाल आइडलको प्रांगण दुई पटक टेक्न लगायो । अहिले उनलाई संगीत नै गर्छु भन्ने ऊर्जा छ । ‘एसएलसीसम्म आइपुग्दा संगीत सिक्नुपर्छ भन्ने भयो । अहिलेसम्म आइपुग्दा संगीतको बाटोमा आइपुग्दा मलाई दुःख छैन । पछुतो छैन । बल्ल नेपाली संगीतका लागि केही गर्नुपर्छ है भन्ने भएको छ,’ उनले भने, ‘संगीतले नै ठूलो ठाउँतिर पुर्‍याओस् भन्ने सोच छ ।’ 

शास्त्रीय संगीत सिक्दै आएका सुजनलाई पहिल्यैदेखि लामो स्वर तान्ने गीतहरूले लोभ्याउँथ्यो । त्यसैले अहिले उनी शास्त्रीय संगीत सिक्दै छन् । गीतहरूको अभ्यास गरिरहेका छन् । सुजनको दिमागमा हरबखत संगीत हुन्छ ।

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully