अमेरिकामा खिचिएको फिल्म ‘हिउँको गीत’

माघ २, २०८१

कान्तिपुर संवाददाता

The film ”Snow Song” shot in America

काठमाडौँ — रंगकर्मी विमल सुवेदीको निर्देशन रहेको फिल्म ‘हिउँको गीत’को छायांकन अमेरिकामा सम्पन्न भएको छ । फिल्ममा  अभिनेत्री वर्षा राउत र ‘साँघुरो’ निर्देशक जोयस पाण्डेको मुख्य भूमिका छ।

ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका फिल्म छायांकन गरिने स्टुडियोमा फिल्म छायांकन गरिएको थियो । पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा फिल्मको अन्तिम छायांकन गरियो । फिल्ममा विमल र जोयश पाण्डेयको संयुक्त लेखन छ । 

नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको फिल्ममा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ ।

फिल्मले नेपालीभाषी भुटानीको देशबाट लखेटिँदाको संघर्ष प्रस्तुत गरेको छ ।

‘हिउँको गीत’ १२ वर्षअघि लेखिएको थियो । निर्देशक सुवेदीले पछि यसमाथि नाटक निर्माण गरे । गत वर्ष अमेरिकामा सोही कथामा ‘हिटलर आउँदैछ’ नाममा सांगीतिक नाटकसमेत बनाएका थिए ।

सुवेदीका अनुसार यो फिल्म नेपालीभाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेजसमेत हुनेछ । फिल्मलाई नेपाली र अंग्रेजी गरी दुई भाषामा खिचिएको छ ।

फिल्ममा वर्षा र जोयशबाहेक  पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य,थोमस किथ स्कट, केदार उप्रेती, आर. बी. खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्य, कृस्टल पराजुली,  एन्जेलिना पराजुली, जोशन रामदाम, निर्मल खनाल,विष्णु रामदाम, मिसेल स्कट, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम आदिको अभिनय रहेको छ । फिल्ममा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् । फिल्मलाई चिनइन गाउँले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन् ।

आयुषा सञ्जेल सहायक निर्देशक रहेको फिल्ममा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्वसमूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन रहेको छ । चलचित्रमा कौशिला खनाल कर्मचार्य, आरबी खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द, तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully