काठमाडौँ — सिनेमेटोग्राफर सुशन प्रजापति र निर्माता सुशान्त श्रेष्ठ 'बर्लिनाले ट्यालेन्ट'मा छनोट भएका छन् । विश्व प्रतिष्ठित फिल्म फेस्टिभल 'बर्लिन'ले आयोजना गर्ने यो प्लेटफर्ममा सिनेमेटोग्राफी र निर्माता क्षेत्रको प्रतिभातर्फ नेपालबाट सुशन र सुशान्त छनोट भएका हुन् ।
उनी दुई १ सय २३ देशबाट आवेदन भरेका ३ हजार ८ सय ३६ प्रतिस्पर्धीबीच छनोट भएका हुन् । यसअघि नेपालबाट पाँच प्रतिभा यो प्लेटफर्ममा छनोट भएका थिए । बर्लिनले सहभागी प्रतिस्पर्धीमध्येबाट यो पटक अन्तिम २ सय १ जना प्रतिभा छनोट गरेको हो ।
६२ देशबाट छानिएका २ सय १ जनाको यो प्रतिस्पर्धीले 'लिसन करेजियसली: सिनेमेटिक न्यारेटिभ्स इन टाइम्स अफ डिसोनेन्स' थिममा रहेर ६ दिनसम्म ट्यालेन्टमा सरिक भएर विश्वभरका फिल्मकर्मीबीच वार्तालाप, कार्यशाला अनि बहसहरूमार्फत 'नेटवर्किङ'को अवसर पाउनेछन् । यो कार्यक्रम १५ फेब्रुअरीदेखि २० सम्म आयोजना हुनेछ । 'बर्लिनाले ट्यालेन्ट'ले विश्वभरका फिल्म क्षेत्रमा छानिएका प्रतिभाहरूलाई पृथक उपलब्धिहरूसँग जोडिने, स्थानिय क्षेत्रभन्दा माथि उठेर बृहत अभ्यास र सहकार्यको अवसर प्रदान गर्नेछ । सुशन र सुशान्त पनि अब विश्वभर छरिएका १० हजार भन्दा बढीको बर्लिन प्रतिभाका रुपमा चिनिनेछन् ।
फिल्म निर्माणमा सक्रिय नाम हो, सुशान्त । सुशान्तले सन् २०१८ मा 'कथा ७२' फिचर फिल्ममार्फत फिल्म निर्माण सुरु गरेका थिए । यसअघि उनले केदार श्रेष्ठद्वारा निर्देशित 'जुनुको जुत्ता' निर्माण गरेका थिए । बुसानमा छनोट भएको लघु फिल्म 'एट एनोदर विन्टर' निर्माण गरेका सुशान्तले 'ह्विल्स अन दिन बस' पनि निर्माण गरेका हुन् । सुशान्त समीक्षात्मक रूपले रुचाइएको 'ऐना झ्यालको पुतली'का पनि सह-निर्माता हुन् । अहिले उनले बनाइरहेका 'गुलाबी पत्र', 'जुनुको रिबन' र 'अशुभ अस्टमी' पोस्ट प्रोडक्सनमा छ । निर्माणाधीन डकुमेन्ट्री 'द लास्ट सेफर्ड'का पनि उनी निर्माता हुन् । सुशान्तले फिल्ममेकिङसम्बन्धी कुनै औपचारिक शिक्षा लिएर फिल्म निर्माण थालेका होइनन् । सन् २०२१ मा भने बुसान एसियन फिल्म स्कुलमा ६ महिने 'प्रड्युसिङ कोर्स' मात्र लिएका हुन् ।
सुशान्तले ७ वर्षदेखि 'बर्लिनाले ट्यालेन्ट'मा आवेदन भर्दै आएका थिए । गत वर्ष वेइटिङलिस्टमा परे पनि अन्तिम चरणसम्म पुग्न सकेनन् । 'सात वर्षपछि बल्ल छनोटमा परें । मलाई पहिल्यैदेखि अन्तर्राष्ट्रिय स्तरका फिल्म निर्माण सिक्नु थियो । विश्व फिल्मबाट सिकेको फिल्म निर्माणलाई नेपालमा ल्याउनु नै मेरो उद्देश्य हो । यो पटक त्यो मौका पाएँ,' सुशान्तले भने ।
सुशन भने अहिलेका चल्तीका सिनेमेटोग्राफर हुन् । 'सोल्टिनी' खिच्न इलामतिर व्यस्त रहेका सुशनले खिचेको फिल्म 'रातो सुटकेस' भेनिसमा छनोट भएको थियो । व्यावसायिक फिल्म मात्रै होइन सुशन फरक धारका फिल्ममा पनि उत्तिकै सक्रिय छन् भन्ने कुरालाई 'रातो सुटकेस'ले नै प्रमाणित गरिसकेको छ । 'आईएम ट्वान्टी वान', 'चिसीमुसी ची', '२ नम्बरी', 'हात्तिछाप', 'रङ्गेली' खिचेका सुशन वर्षमा ५/६ वटा फिल्म गरिरहेका हुन्छन् । ओस्कार कलेज अफ फिल्म स्टडिजमा फिल्म पढेका सुशनले राजेश श्रेष्ठको सहायक बन्दै सिनेमेटोग्राफी थालेका हुन् । उनले फिल्म पढ्नासाथ 'हे युवा' शीर्षकको फिचर फिल्म पनि बनाएका थिए, जसको असफल्ताले सुशनलाई फिल्म निर्माणमा गम्भीर बन्न सिकायो । विनोद पौडेलसँग 'अवेकन आइज' गरेका सुशनले सन् २०१० मा डीएसएलआरबाटै 'अपवाद' खिचेका थिए । सुशन विश्वका फिल्मकर्मी, निर्माण टोलीबाट नयाँ कुरा सिक्नलाई कौतुहल छन् । 'म निकै खुसी छु । अन्तर्राष्ट्रिय फिल्मकर्मीसँग सहकार्य गर्न तयार छु,'सुशनले भने ।
