वीरगन्जमा गुन्जिए कार्की

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Gunjie Karki in Birgunj

पर्सा — गायक आनन्द कार्की झन्डै ३५ वर्षपछि वीरगन्जमा झुल्किए । साढे तीन दशकअघि चर्चित भारतीय गायिक पिनाज मशानीसँग वीरगन्जको त्रिमूर्ति हलमा मञ्च साटासाट गरेका कार्कीे शुक्रबार राति वीरगन्जको नगर सभागृहमा प्रस्तुति दिँदा नोस्टाल्जिक भए । 

सुस्त मनस्थिति र मस्तिष्क पक्षाघात भएका बालबालिकाका क्षेत्रमा निःशुल्क सेवा दिँदै आएको संस्था आशा किरण केन्द्र वीरगन्जको दसौं वार्षिकोत्सवका अवसरमा आयोजित एकल साँझमा राति ७ देखि ९ बजेसम्म निरन्तर कार्कीले आफ्नो प्रस्तुति दिए । आफ्नो चर्चित गीत ‘जनम जनम दिउँला सँगै’ बाट प्रस्तुति सुरु गरेका उनले त्यसपछि ‘यी हल्लाहरू हुन् तिमीले सुनेका’ गाएका थिए । 

त्यसपछि स्थानीय दर्शक/श्रोताको मागमा उनले चर्चित भारतीय गजल गायक जगजित सिंहको ‘होठो से छुलो तुम’,पंकज उधासको ‘चाँदी जैसा रंग है तेरा’ आदि सुनाएका थिए । यीबाहेक उनले किशोर कुमार, उदित नारायण झादेखि कुमार सानुका गीत प्रस्तुत गरेका थिए । 

केन्द्रका अध्यक्ष सुनील गुप्ताले कार्यक्रमबाट संकलन हुने रकम केन्द्रको व्यवस्थापन तथा सञ्चालन कार्यमा खर्च गरिने बताए । केन्द्रले एक दशकदेखि सुस्त मनस्थिति, मस्तिष्क पक्षाघात भएका बालबालिकाका क्षेत्रमा निःशुल्क सेवा दिँदै आएको उनले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully