आमिर चाहन्छन्– ‘लापत्ता लेडिज्‌ले ओस्कार जितोस्’

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Aamir wants 'Missing Ladies' to win Oscars

काठमाडौँ — किरण राव निर्देशित फिल्म ‘लापता लेडिज्’ भारतले ओस्कार अवार्डका लागि सिफारिस गर्‍यो । फिल्मका निर्माता अभिनेता आमिर खान त्यसयता फिल्मको प्रचारलाई लिएर निकै सक्रिय छन् ।

उनले फिल्मको लागि ओस्कार क्याम्पेनको सुरुवात पनि गरेका छन् । यसै सन्दर्भमा भारतीय सञ्चारमाध्यमहरूसँगको अन्तर्वातामा आमिरले आफूहरूले ओस्कार जित्नुको अर्थबारे कुरा गरे । आमिरको सपना छ, ओस्कार जित्ने ।

‘‘यदि फिल्मले भारतको लागि अवार्ड जित्न सक्यो भने दर्शकहरू धेरै खुसी हुन्छन्,’ उनी भन्छन्, ‘‘प्रतिस्पर्धालाई कति गम्भीरतासाथ लिइनुपर्छ मलाई थाहा छैन । तर जितेको खण्डमा चाहिँ म अत्यन्त खुशी हुनेछु।’ आमिर ओस्कार जितेमा फिल्म विश्वभरका दर्शकहरूसम्म पुग्ने बताउँछन् ।

‘महाभारतको भारी

आमिर खान धेरै वर्षदेखि ‘महाभारत’लाई एक भव्य स्केलमा पर्दामा ल्याउन चाहन्छन् । उनले यस प्रोजेक्टको लामो तयारी र अनुसन्धानपछि सुरु गरिनहाल्ने निर्णय लिए । हालै आमिरले बीबीसीसँग कुरा गर्दै भने,  ‘यो मेरो ड्रिम प्रोजेक्ट हो र यो एकदम डरलाग्दो प्रोजेक्ट हो। यो निकै विशाल छ। यसलाई बनाउँदा म कुनै गल्ती नगरुँ भन्नेछ।’

उनले थपे, ‘यो एक ठूलो जिम्मेवारी हो, किनकि भारतीय हुनुको नाताले यो हाम्रो धेरै नजिक छ, यो हाम्रो रगतमा छ। त्यसैले म यसलाई एकदम सही तरिकाले बनाउन चाहन्छु। म हरेक भारतीयलाई गर्व महसुस गराउन चाहन्छु।’

उनले संसारलाई नै भारतसँग के छ भन्ने कुरा देखाउन चाहेको बताए । ‘यो कहिले बन्छ थाहा छैन । तर यो यसमा म काम गर्न चाहन्छु,’ उनले भने ।

आमिरको नयाँ फिल्म ‘सितारे जमीं पर’को छायाँकन हालै सकियो । यो फिल्म सन् २०२५को गर्मी यामतिर रिलिज हुनेछ। साथै आमिरले रजनीकान्त स्टारर फिल्म ‘कुली’मा केमियो गर्ने तयारी भएको बताइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully