आमाले भनिन्, ‘तेरो रुनु सकियो, अब तिमीहरूले कहिल्यै रुन पर्दैन’

पुस १, २०८१

समर्पण श्री

Mother said, 'Your crying is over, you will never have to cry again'

काठमाडौँ — माग्ने बुढाको सार्वजनिक परिचय बनाएका केदार घिमिरेसँग आमा अग्निकुमारीका जोडिएका धमिला सम्झनाहरू स्मृतिको एल्बममा छन् । ती एल्बमका पाना पल्टाउँदा उनी आमा अग्निकुमारीको घुर्मैलो सम्झना पाउँछन् अनि उनको मृत्युपछि उत्तिकै प्यारले हुर्काएकी कान्छी सानीआमा पाए । संयोग त यस्तो थियो कि, उनले पाएको दोस्रो आमाको नाम पनि अग्निकुमारी नै थियो ।

यी दुवै आमाहरू केदारका निम्ति उत्तिकै श्रद्धेय छन् अनि दुवैको नाम सम्झिँदा मात्रै पनि उनको आँत हुरुक्कै भएर आउँछ । जन्मदिने आमा बितेपछिका केही समय केदारका निम्ति बडो सकसपूर्ण थिए । कसैले केही गरिहालेमा साथीहरूले भन्थे, ‘आमालाई भनिदिन्छु ।’ त्यतिबेला केदार मनमनै गुन्थे, ‘साथीहरूले त आमालाई भन्लान्, मचाहिँ कसलाई भन्ने?’ यो प्रश्नको जवाफ उनीसँग थिएन । तर बाले अर्को बिहे गरेपछि उनलाई यो प्रश्नले कहिल्यै सताएन । किनकि उनले उत्तिकै माया र मातृत्व दिने आमा पाएजस्तो भयो ।

अहिले पनि सम्झिल्याउँदा केदारलाई सानीआमाको अनुहारमा सधैं आफ्नो चिन्तामात्रै टाँसिएको लाग्छ । २० वर्ष कटेपछि आमाको चिन्ता थियो, ‘बिहे कहिले गर्ला ?’ केदार काठमाडौंबाट घर पुग्दा जहिल्यै सोध्थिन्, ‘बिहे गर्नु पर्दैन ?’ नभन्दै केदारले ०५६ सालमा बिहे गरे । घरमा बुहारी भित्र्याउने उनै आमा थिइन् ।‘त्यतिबेला आमा निकै खुसी हुनुभएको थियो,’ केदार भन्छन् ।

आमा बुहारी सीतादेवीसँग खुब मिल्थिन् । उनीहरू सासू–बुहारीभन्दा बढी साथीजस्ता थिए । तर बुहारी भित्र्याएको २ वर्षपछि उनै आमाले पनि छाडेर गइन् । अस्पतालको शय्यामा हुँदा अग्निकुमारीले सीतादेवीलाई भनेकी थिइन्, ‘अब तिमीहरूको राम्रो हुन्छ । सबै राम्रो हुन्छ ।’ आमाको आशीर्वाद फाप्यो पनि । उनी कलाकारितामा चम्किए । लोकप्रिय हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’बाट उनको पात्र ‘माग्ने बुढा’ चर्चित बन्यो । फिल्ममा पनि ‘छ एकान छ’बाट कहिल्यै पछाडि फर्किनुपरेन । कलाकारिताबाटै उनले आफ्नो कमजोर आर्थिक अवस्थालाई बयिलो बनाए । उनलाई लाग्छ, ‘कलाकारिता क्षेत्रमा राम्रो हुँदै जानु आमाकै आशीर्वाद थियो कि ।’  

बितेको वर्षौंपछि आमा अग्निकुमारी एक रात सपनामा आइन् । उनले उसैगरी आशीर्वाद दिँदै भनिन्, ‘तेरो रुनु सकियो । अब तिमीहरूले कहिल्यै रुन पर्दैन ।’ केदारलाई लाग्छ, आमाले भनेको मिलिरहेको छ ।

फिल्म सुटिङका क्रममा कहिलेकाहीं आमाछोराका सम्बन्धका दृश्यहरू आउँछन् । त्यो बेला केदारलाई असह्य पीडा हुन्छ । ‘छक्का पञ्जा’ पहिलो सिरिज छायांकनका बेला एउटा सिन खिच्नुपर्ने थियो । केदार आफ्नी टीबी भएकी आमालाई छाडेर विदेश जाँदैछन् । त्यो सिन गर्दागर्दै केदारको आँखा भरियो । उनले सकेनन् । आँसु नआउनुपर्ने सिन, तर आइरह्यो । १० टेकसम्म पनि उनले सकेनन् । ‘ममात्र हैन, टिममा भएकाहरूको पनि आमा थिएनन् । उनीहरू पनि रुन थाले,’ केदार सम्झन्छन् ।

कान्तिपुरको साप्ताहिक आमा स्तम्भका निम्ति कुरा गर्दै केदार घिमिरेले आमासँग जोडिएका स्मृतिका अनेकन पहेलीमात्र फुकाएका छैनन्, आमाहरू किन सन्तानका निम्ति महत्त्वपूर्ण हुन्छन् र आमाको मृत्युपछि उनीहरूको यादले किन बारम्बार सताइरहन्छ भनेर पनि अनेकन दृष्टान्त र सम्झनाहरू सुनाएका छन् । अनि अझै रोचक कुरा उनले आमाको फोटोको सन्दर्भबारे विस्तृतमा बताएका छन् ।

(केदार घिमिरेको आमा-सम्झनाबारे विस्तृतमा मंगलबारको कान्तिपुरमा पढ्नुहोला)

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully