काठमाडौँ — भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको गतिविधिबारे जानकारी दिने वेबसाइट पीएमईन्डियामा बिहीबार नरेन्द्र मोदी एउटा समूहमा बसेको तस्बिर र उनले गरेको भेटघाटको तस्बिर अनि भिडियो सार्वजनिक भयो ।
बुधबार भएको भेटघाट समेटिएको उक्त भिडियो सामाग्रीमा भारतीय प्रधानमन्त्रीले बलिउडका प्रसिद्ध फिल्ममेकर तथा अभिनेता राजकपुर ((१९२४–१९९८) लाई सम्झिएका मात्रै छैनन, उनी भारतका सफ्ट पावर रहेको भन्दै तारिफ पनि गरेका छन् । उक्त भिडियोमा उनले राजकपुरका परिवारका सदस्यसँग गरेको अनौपचारिक कुराकानी पनि देख्न सकिन्छ ।
बलिउड फिल्मका प्रशसंकहरूले श्रद्धाले सम्झिने नाम हो, राजकपुर । यिनै राजकपुर जन्मेको सय वर्ष पुग्दैछ शनिबार । एक समय ब्ल्याक एण्ड ह्ववाइट पर्दामा आफ्नो अभिनयको तरक्की देखाएर सिंगो भारतीय दर्शक र नेपालमा समेत सबैले सम्झिने नाम बनेका राजकपुर अहिले पनि सिंगो भारत र उनको फिल्मको प्रभाव रहेका देश पाकिस्तानदेखि नेपालसम्म श्रद्धाले सम्झिने नाम हो ।
शत वार्षिकी उत्सवको तयारीको सन्दर्भमा मोदीले राज कपुरसँगका पुराना स्मृतिहरू सम्झिनै उनको तारिफ मात्रै गरेनन, राज कपुरको शतवार्षिकी उत्सवलाई भारतीय सिनेमा उद्योगको स्वर्णिम यात्राको गाथाको प्रतीक भन्दै सराहना पनि गरे ।
राजकपुर अभिनित सन् १९४७ मा निर्माण भएको चलचित्र ‘नील कमल’को चर्चा अहिले पनि फिल्म पारिखीहरूमाझ हुने गर्छ । भारतीय प्रधानमन्त्री मोदीले उक्त भेटमा यो फिल्मको सम्झना मात्र गरेनन्, त्यसले समाजमा दिएको योगदानमाथि पनि चर्चा गरे । भेटमा प्रधानमन्त्री मोदीको कपुर परिवारलाई अनुरोध थियो, ‘मध्य एसियालाई लक्षित गर्नेगरी राज कपुरको जीवनकथामा आधारित फिल्म बनाउनुस् ।’
उक्त भेटघाटमा प्रधानमन्त्री मोदीले सिनेमा क्षेत्रको शक्ति उजागर गर्नको लागि एउटा रोचक किस्सा सुनाए । उनले पुरानो समय सम्झिँदै भने, ‘त्यतिबेला पूर्व जनसंघले दिल्ली चुनावमा हार व्यहोरेको समय थियो । त्यतिबेला जनसंघका नेताहरूले राज कपुरको चलचित्र ‘फिर सुबह होगी’ फिल्म हेरेर त्यसको प्रेरणाले पार्टीलाई नयाँ उर्जा दिएका थिए ।
शत वार्षिकी उत्सवको अवसरमा राज कपुरका १० चलचित्रहरू भारतका ४० सहरहरूमा १६० थियटरहरूमा प्रदर्शन गरिँदैछ । १३ डिसेम्बरमा मुम्बईमा उनको फिल्मको विशेष प्रिमियर शो पनि आयोजना गरिएको छ ।
फ्ल्यासब्याकमा राज
१४ डिसेम्बर १९२४ मा पेशावर (हाल पाकिस्तानको एक सहर) मा जन्मेका राजकपुर भारतीय फिल्म उद्योगका सबैभन्दा प्रतिष्ठत अभिनेता मात्रै होइनन्, भारतीय फिल्मलाई सुनौलो युगमा लैजान अग्रणी व्यक्तित्व समेत हुन् । राजकपुरको फिल्मको नेपाली समाजमा पनि एक समय जबर्जस्त प्रभाव थियो । सन् १९७३ मा त उनी काठमाडौं नै आएका थिए । आफैंले निर्माण र निर्देशन गरेको र छोरा श्रृषी कपुरलाई डेब्यु गराएको फिल्म बबीको वितरण र प्रर्दशनका क्रममा उनी नेपाल आएका थिए ।
राज कपुर जसरी बलिउडमा चर्चित छन्, उनका भाई शम्मी कपुर र शशी कपुर पनि उत्तिकै चर्चित छन् । सन् १९३५ मा ईन्क्लाब फिल्मार्फत डेब्यु गरेका राजकपुर नील कमल फिल्मपछि भने जनमानसमा छाए । निर्देशनमा उनको यात्रा भने १९४८ मा आग फिल्मबाट भयो । आवारादेखि जागते रहोसम्म मेरा नाम जोकरदेखि राम तेरी गंगा मैलीसम्म जस्ता दर्जनौं फिल्ममार्फत उनले आफ्नो प्रभाव विस्तार गरिरहे ।
राज कपुरलाई अहिले भारतीय समाजल फिल्मकर्मी जन्माउने परिवारको रुपमा लिइन्छ । किनकी उनका छोराहरू रणधीर कपूरदेखि श्रृषि कपुर र राजीव कपुर पनि एक समय बलिउडमा चर्चित भए । उनको परिवारका तेस्रो पुस्ताका रणवीर कपुरसम्म बलिउडमा एकछत्र राज गरिरहेका छन् ।
