काठमाडौँ — वरिष्ठ संगीतकार एवं गायक सीके रसाइलीलाई रेडियो कान्तिपुरले सलाम ज्यूँदो इतिहासलाई कार्यक्रममार्फत शनिबार सम्मान गरेको छ ।
संगीत सिर्जनामा अनवरत ६ दशकभन्दा बढी सक्रिय रसाइलीलाई कान्तिपुर परिसरमा आयोजित विशेष कार्यक्रममा कान्तिपुर टीभी र रेडियोका चिफ मार्केटिङ अफिसर सुजन कार्कीले सम्मान गरेका हुन् ।
२० दशकमा नेपाली सांगीतिक क्षेत्रमा उदाएका ८४ वर्षीय रसाइलीका ७ सय हाराहारीमा गीत रेकर्ड छन् । नारायण गोपाल, गोपाल योञ्जनदेखि उदितनारायण झा र पछिल्लो छिमलका सुरजकुमार थापासम्मका गायकसँग रसाइलीले सहकार्य गरेका छन् । पहिले आफैं गायनमा सक्रिय रसाइली पछि संगीत सिर्जनामै रमाए ।
रेडियोसँग आफ्नो छुट्टै नाता रहेको भन्दै रसाइलीले जीवित छँदै सम्मान गर्ने परम्परा कान्तिपुरले थालनी गरेकोमा खुसी व्यक्त गरे । सिलोङमा छँदा अल ईन्डिया रेडियोबाट गायन थालेका उनलाई संगीतकार नातिकाजीले नेपालमा गीत गाउनुअघि भ्वाईस टेस्टसमेत नलिई स्टुडियो छिराएको प्रसंग पनि चर्चित छ । सम्मान कार्यक्रमले आफूलाई ऊर्जा मिलेको र समयले साथ दिएमा नयाँ कलाकारसाँग काम गर्ने सोच पलाएको उनले सुनाए ।
कार्यक्रममा गायक भूगोल दाहालले रसाइलीका कहिलेकाहीं म हाँस्छु र कसरी म भूलें बोलको गीत सुनाएका थिए । त्यस्तै सुरजकुमार थापाले फूलको माला पहिराई दिए र दुखेको दिल भने गायिका लसता जोशीले तिमीलाई सोधी खोजी हिँड्दा बोलको गीत प्रस्तुत गरे । नयाँ कलाकारहरुले आफ्नो गीतलाई न्याय गरेको भन्दै रसाइलीले उनीहरुलाई धन्यवाद पनि दिए ।
रेडियो कान्तिपुरले अघिल्लो महिना सलाम ज्यूँदो इतिहासलाईअन्तर्गत वरिष्ठ पप गायक सुनील उप्रेतीलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान हुँदै आएको छ । कार्यक्रम कान्तिपुर म्याक्स एचडी र रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण भएको थियो ।
