फागुन २४ देखि कर्णाली चलचित्र महोत्सव

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

Karnali Film Festival from February 24

काठमाडौँ — नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ देखि सुरु हुने भएको छ ।

रेड चेरी मिडियाले आयोजना गर्ने यस महोत्सवले ‘घुमौं कर्णाली, हेरौं कर्णाली’ को नारालाई अघि सार्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने उल्लेख गरेको छ । 

महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णाली महोत्सवले यस क्षेत्रका ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने योजनासहित जलवायु परिवर्तनका मुद्दालाई समेट्ने गरी ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ पनि आयोजना गर्न लागिएको जानकारी दिए ।

महोत्सवमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तर्क्रिया र अवार्ड समारोह लगायतका गतिविधि समेटिने आयोजकले जनाएको छ । साथै, महोत्सवको सद्भावना दूतका रूपमा कलाकारद्वय प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई अनुबन्ध गरिएको छ ।

कान्तिपुर

Link copied successfully