चाइनिज सब-टाइटलमा हङकङका हलमा 'गाउँ आएको बाटो'

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

'The Road to the Village' in Chinese Subtitles in Hong Kong Halls

काठमाडौँ — नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो' हङकङको चार हलमा यही मंसिर २७ देखि प्रदर्शन गरिँदैछ । चाइनिज भाषाको सब-टाइटलमा प्रदर्शन हुने यो फिल्म हङकङका हलमा थिएट्रिकल रिलिज गर्ने अन्तिम तयारीमा निर्माण पक्ष जुटेको छ । 

निर्माता अमोद राईका अनुसार हङकङका हलमा पहिलो पटक नेपाली फिल्मको थिएट्रिकल प्रदर्शन हुने भएको हो । यसअघि हल बुक गरेर नेपाली दर्शकबीच नेपाली फिल्मको विशेष प्रदर्शन हुँदै आएको थियो । तर, हङकङ बस्दै आएका निर्माता राई निर्माण टिमको अथक् प्रयासपछि थिएट्रिकल प्रदर्शन संभव भएको बताउँछन् । उनका अनुसार यो फिल्म एक महिनासम्म हङकङका हलमा प्रदर्शन गर्ने तय भएको छ । हङकङको वितरण कम्पनी गोल्डेन सिनले फिल्मको वितरण सम्हालेको छ ।

'मलाई सँधै हाम्रा नेपाली फिल्महरु अन्तर्राष्ट्रिय प्रदर्शनमा आउनुपर्छ भन्ने लाग्थ्यो । हाम्रा कथाहरु अन्तर्राष्ट्रिय दर्शकले पनि हेर्नुपर्छ भन्ने लाग्थ्यो । त्यसैले यस पटक हङकङमा विश्वका प्रतिष्ठित फिल्महरु प्रदर्शन हुँदै आएको हलमा नेपाली फिल्मको प्रदर्शन गर्ने जमर्को गर्‍यौं,' निर्माता राईले भने, 'अब यो फिल्मलाई नेपाली दर्शकले मात्रै होइन चाइनिजदेखि हङकङमा रहेका अन्य विदेशी दर्शकले हेर्न पाउनुहुनेछ । खास अर्थमा यो नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन हो ।'

टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको यो फिल्म बुसानदेखि साओ पाउलोलगायत थुप्रै फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ ।

दयाहाङ राई र पशुपति राईको प्रमुख अभिनय रहेको यो फिल्ममा बुवा र छोराको कथा देखाइएको छ । सन्तानका लागि अभिभावकले गर्ने प्रेम, वहन गर्ने जिम्मेवारीदेखि उनीहरुका इच्छा/चाहना पूरा गरिदिनका लागि बुवा र आमाले कुन हदसम्मको संघर्ष गर्छन् भन्ने पक्षमाथि फिल्मको प्रमुख कथा छ । 

कान्तिपुर

Link copied successfully