काठमाडौँ — क्रोएसियाको लघु फिल्म 'द म्यान हु कुड नट रिमेन साइलेन्ट' देखाउँदै १२ औं 'नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गरेको महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीदेखि निर्देशक नवीन सुब्बा, दीपेन्द्र गौचनलगायत फिल्मकर्मीहरूको बाक्लो उपस्थिति थियो ।
चलचित्र विकास बोर्डको हलमा आयोजना भएको यो महोत्सवमा विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा सहभागी भएका अधिकांश फिल्म प्रतिस्पर्धाका लागि छनौट भएका छन् । सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले मानव अधिकारसँग सम्बन्धित चलचित्रहरूको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको महोत्सव अध्यक्ष पाण्डव खत्रीले बताए । 'महोत्सवका लाइनअप हेर्नुभयो भने हामीले छानेका फिल्महरु विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा सहभागिता जनाएका फिल्म नै छन्,'खत्रीले भने ।
विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्रान्ड जुरी फिक्सन अवार्ड जितेको फिल्म ‘अल वी इमाजिन एज लाइट’ यो महोत्सवको आकर्षण केन्द्रमा छ । कान्सकै सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘द म्यान हु कुडनट रिमेन साइलेन्स’, बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड विजेता ‘एन आउटरन’, बर्लिनकै जेनेरेसन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’ र ‘ओटिट’जस्ता फिल्म यो महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय सर्ट डकुमेन्ट्री प्रतिस्पर्धामा ‘हाउ टू प्लिज’सहित ९ वटा वृत्तचित्र छनोट भएक छन् । सामाजिक न्यायको मुख्य थिममा आयोजना हुने महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ । नेपालसहित २३ देशका ४७ फिल्म महोत्सवमा देखानेछन् । पाँच फरक- फरक विषयमा अन्तरक्रियात्मक छलफलदेखि मास्टर क्लास पनि हुनेछ ।
