'राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान'मा सधैँ विवाद

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

There is always controversy over 'National Film Awards and Honors'

काठमाडौँ — नेपालमा राष्ट्रियस्तरमा फिल्मसम्बन्धी कुनै अवार्ड दिइन्छ भने त्यो हो, राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान । चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति भवनमा वितरण गरिने यो अवार्डलाई स्वयं राष्ट्रपतिले नै हस्तान्तरण गर्दै आइरहेका छन् । विडम्बना राष्ट्रपतिको हातबाट वितरण गरिने यो अवार्ड सधैँ विवादमा तानिइरहन्छ । यसपालि पनि यस्तै भयो !

यो पटक अवार्ड तीन मुख्य विषयमा प्रदान गरिएको थियो । फिल्म क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएकाहरूलाई विशेष सम्मान, विधागत पुरस्कार तथा सम्मान । यी सम्मानहरूमा फिल्मकर्मीहरूको खासै गुनासो सुनिँदैन ।

विधागततर्फका अवार्डमा भने केही फिल्मकर्मीले प्रश्न उठाइरहेका छन् ।  निर्देशक दीपेन्द्र लामाले उत्कृष्ट फिल्म, निर्देशन, पटकथा, अभिनेता, अभिनेत्री, छायांकन र सम्पादनमा कुनै पनि विधामा 'जारी'लाई अवार्ड नदिनु घोर अन्याय हो भन्दै लेखेका छन्,'नेसनल फिल्म अवार्डका निर्णायक समितिको फिल्म लिट्रेसी निकै नै दयनीय रहेछ, छर्लङ्ग भयो ।' निर्देशक दीपेन्द्र मात्रै होइन, केही फिल्मकर्मीदेखि फिल्मप्रेमीहरूले 'राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान'को यही विषयमाथि प्रश्न उठाइरहेका छन् । 

समीक्षात्मक रूपले रुचाइएको 'जारी'लाई अवार्ड कार्यक्रममा उत्कृष्ट व्यावसायिक फिल्मको पुरस्कार प्रदान गरियो । फिल्ममार्फत अवार्ड उचाल्न निर्माता रामबाबु गुरुङ मञ्च उक्लेका थिए । ट्रफीसमेत उचाले ।  'जारी'ले झैं जारी प्रथाका विषय उठाइएको 'बुलाकी'ले भने उत्कृष्ट फिल्म मात्रै होइन लेखन/कथा र पटकथामा अवार्ड उचाल्यो ।

अधिकांशले निर्णायकदेखि चलचित्र विकास  बोर्डले आयोजना गर्दै आइरहेको यो अवार्डको गरिमा घट्दै आएको संकेत गर्दै टिप्पणी गरिरहेका छन् । यसपालि विपिन कार्की उत्कृष्ट अभिनेता घोषित हुँदा अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेकी थिइन् । 

कान्तिपुर

Link copied successfully