अभिनेत्री मलिका महतको पहिलो फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ ले बक्स अफिसमा कमाइ गर्न सकेन, फिल्म नचले पनि मलिका भने चलिन्
काठमाडौँ — मलिकालाई लाग्छ, त्यतिबेला उनको फिल्म अन्य फिल्मसँग एकसाथ भिड्नुपर्दा बक्सअफिसमा नतिजा राम्रो निस्केन । तर, युट्युबमा फिल्म अपलोड भएपछि भने बल्ल उनलाई धेरैले भन्न थालेछन्, ‘मैले तपाईंको डेब्यु फिल्म हेरेको छु नि ।’
१ करोड ८० लाखले युट्युबमा ‘यात्रा’ लाई हेरिसकेकाले पनि उनको कुरा मान्न सकिन्छ । दृष्टिविहीन युवतीको चरित्र निर्वाह गरेकी मलिकाले गीत गाउँदै गर्दाको फिल्मको एक दृश्यलाई लिएर अधिकांशले उनको अभिनयको तारिफसमेत गरेका छन् । युट्युबबाट आउने यस्तै प्रतिक्रियाबाट दंग छिन्, मलिका ।
मलिकाको दोस्रो फिल्म ‘पानीफोटो’ ले पनि बक्सअफिस तताउन सकेन । खगेन्द्र लामिछानेको अपोजिटमा ‘राधा’ बनेर देखिएकी उनलाई फेरि एकपटक दर्शकमाझ ‘नोटिस’ गरायो । फिल्ममा उनको भूमिका निकै छोटो भए पनि महत्त्वपूर्ण छ, द्वन्द्वकालमा हराएको प्रेमीको पर्खाइमा रहेकी प्रेमिका । उक्त पात्रको पर्खाइ, छटपटी र बेचैनीलाई मलिकाले जीवन्त बनाएकी छन् ।
‘पानीफोटो’ गर्दाका अनुभव अहिलेसम्मकै उत्कृष्ट रहेको मलिका सुनाउँछिन् । फिल्ममा उनी अन्तिमतिर मात्र जोडिएकी थिइन् । खगेन्द्रकै निर्देशन रहेको उक्त फिल्मका लागि उनले एक साताको वर्कसप मात्र गर्न पाएकी थिइन् । फिल्म गर्नुअघि मलिकालाई हराएका र पर्खाइमा रहेका पात्रहरूबारे खासै अनुभूति थिएन । तर, जब पात्रमार्फत उनले कसैलाई पर्खिरहनेहरूको मानसिकता र भावनालाई बुझिन्, त्यसमा आफूलाई एकाकार गर्न पाइन् ।
चरित्र निर्माणका लागि मलिकासँग खासै धेरै समय थिएन । चरित्र तयारीका लागि उनले भावुक गीतहरू सुन्न थालिन् रे । काठमाडौंबाट स्याङ्जासम्मको गाडीको यात्राभर उनले त्यस्तै विरहका गीत सुनिन्, तिनकै शब्दहरू मनमा गुनिन् । ‘ती गीतहरू सुन्दाको जुन अवस्था थियो, छायांकन अवधिभर मैले त्यही भावनामा पात्रलाई पछ्याइरहें,’ मलिका सम्झन्छिन्, ‘हुन त म कहिल्यै स्याड सङ सुन्दिन थिएँ । तर, चरित्रकै लागि सुन्न थालें ।’
‘पानीफोटो’ खेलिसकेपछि मलिकाले आफ्नो अभिनय क्षमता विकास भएको महसुस गरिन् । उनले त्यसबेला अनुभवी कलाकारहरू मेनुका प्रधान, निर्देशक लामिछाने, अनुप बरालसँगै एक महिना घुलमिल हुन पाइन् । प्रत्यक्ष/अप्रत्यक्ष ढंगबाट ‘पानीफोटो’ बाट थुप्रै सिक्न पाइन् रे । ‘खगेन्द्र दाइसँग काम गरिरहँदा उहाँले गर्ने हाउभाउदेखि चरित्रका लागि गर्ने तयारीको प्रक्रियालाई मैले मिहीन ढंगले नियाल्थें । तिनै कुराहरू हेर्दै धेरै कुरा सिक्न पाएँ, जुन कुरा त्यसपछिका प्रोजेक्टमा लागू गरिरहेकी छु,’ उनले भनिन् ।
करिअरको छोटो यात्रामा मलिकाले कलाका थुप्रै आयाममा आफूलाई पस्केकी छन् । हालै मात्र उनी नाटक ‘पगला घोडा’ मा देखिएकी थिइन् । नाटकले पितृसत्तात्मक समाजमा महिलाको अवस्थालाई व्यंग्य गर्दै चार पुरुष पात्रहरूको प्रेमकथा प्रस्तुत गरेको थियो । मञ्चमा उनले चारै पुरुषका प्रेमिकाको भूमिका गरेकी थिइन् । अथवा, एउटै मञ्चमा भिन्नभिन्न महिला पात्रको भूमिकामा निर्वाह गरेकी थिइन् । क्यामेराअघि अभिनय गरिरहेकी मलिका मञ्चमा भने ‘लाउड’ लागेकी थिइन् । उनी आफैं पनि यो कुरा स्विकार्छिन् ।
वास्तविक जीवनमै पनि मलिका त्यति चर्को आवाजमा बोल्दिनन् । क्यामेराका लागि मन्द बोलीले काम गरेकै थियो तर मञ्चबाट सबै दर्शकलाई लक्षित गर्दै संवाद बोल्दा उनी ‘लाउड’ भएकी रहिछन् । ‘एकैचोटि चारवटा चरित्र गर्नुपर्ने, सायद मैले अहिलेसम्म गरेको सबैभन्दा चुनौतीपूर्ण काम नै त्यही थियो । एकदम गाह्रो भयो, तयारी गरिरहँदा सक्दिनँ कि भन्ने भएको थियो,’ उनले उक्त चरित्र निर्माणको प्रक्रिया सुनाइन्, ‘त्यसरी चर्को आवाजमा बोल्नुपर्ने हुँदा मैले मञ्चमा सन्तुलन मिलाउन सकिनँ ।’
‘राधा’ बनेजस्तो सहज थिएन, ‘पगला घोडा’ को प्रेमिका बन्न उनलाई । छोटो समयको अन्तरालमा चार चरित्र गर्नुपर्थ्यो । त्यसैले पनि डेढ महिनाको अभ्यास उनका लागि अपुग बनेको थियो । नाटक मञ्चनको केही दिनअघि मात्रै मलिकाले उक्त चरित्रबारे भेउ पाएकी थिइन् ।
ती चरित्र गरिरहँदा ‘डिप्रेसन’ कस्तो हुन्छ भन्ने महसुस गरिन् रे । आफूभित्र एक्लोपनको आभास गरिछन् । त्यही भावनालाई उनी चरित्रमार्फत मञ्चमा देखाउन चाहन्थिन् । हाल प्रदर्शनरत उनको फिल्म ‘सतीदेवी’ मा काम गरिरहँदै पनि समाजमा महिलाले गरिरहेका संघर्षलाई उनले नजिकबाट बुझ्न पाएकी रहिछन् । ‘पगला घोडा’ मै पनि उनले उक्त महिला पात्रको संघर्ष र अवस्था बुझ्न पाइन् ।
पर्दादेखि मञ्चसम्म महिला पात्रका संघर्षलाई जीवन्तता दिएकी मलिकाले फिल्म क्षेत्रमा प्रवेशका लागि भने खासै संघर्ष गर्नुपरेन । उनी यो अर्थमा आफूलाई भाग्यमानी नै ठान्छिन् । किनकि त्यस बेलासम्म फिल्म क्षेत्रसँग उनको कुनै नाता सम्बन्ध थिएन । इन्स्टाग्राममा राखेको फोटो हेरेरै उनले म्युजिक भिडियोको अफर पाएकी थिइन् । त्यही म्युजिक भिडियोले उनलाई फिल्मको ढोका खोलिदियो ।
‘कामले नै कामलाई तान्ने रहेछ, नत्र मभन्दा कति राम्रो गर्ने कलाकारहरू हुनुहुन्छ । मभन्दा योग्य छन् । तर, म खासै दुःख नै नगरी यहाँ छु भन्ने कुराले मलाई छोइरहन्छ,’ मलिकाले भनिन्, ‘कहिले कामहरू आइरहेको हुँदैन । त्यतिबेला पनि आफूलाई सम्हालेर अगाडि बढ्नुपर्ने हुन्छ । कहिले काम आउँदा पनि भ्याइनभ्याइ हुन्छ ।’
पछिल्लो फिल्म ‘अगत्स्य’ मा भने मलिकाले फरक विधामा काम गर्ने अवसर पाइन् । सस्पेन्स, थ्रिलर उक्त फिल्ममा उनी ‘चाँदनी’ को भूमिकामा देखिएकी थिइन् । गोरखपुरमा फिल्मको छायांकन भइरहँदा ‘फुड पोइजन’ भयो । सौगात मल्लसँग पहिलो दृश्य गर्दाको क्षण मलिकाले अहिले पनि बिर्सेकी छैनन् । आफूले ‘आइडल’ मान्दै आएको कलाकारसँग अभिनय गर्नुपर्दा मलिका नर्भस भएकी थिइन् रे ।
कक्षा ४ मा हुँदा विद्यालयको ‘ड्रामा क्लब’ मा आबद्ध भई मलिकाले ‘मधुमालती’ भन्ने नाटक गरेकी रहिछन् । त्यही बेलादेखि नै उनले आफ्नो रुचि चिन्न पाएकी रहिछन् । तर, कलाकार नै बन्छु भन्ने सपना भने सजाइसकेकी थिइनन् रे । तर, क्यामेराले नै मलिकालाई पछ्याउँदै पर्दासम्म पुर्याइदिए ।
तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी उनलाई बाल्यकालमा गरेको त्यही अभिनयले म्युजिक भिडियोदेखि फिल्मसम्म तानेको थियो । ‘म अन्तरमुखी र लजालु स्वभावको थिएँ । केही गर्न आउँदैन भन्ने लाग्थ्यो, पढाइमा पनि खासै राम्रो थिइनँ,’ मलिका थप्छिन्, ‘बाल्यकालमै गरेको त्यही अभिनयले मभित्र पनि केही छ भन्ने कुरा संकेत गरिदिएको थियो । त्यसैले पहिल्यैदेखि अभिनय मेरो लागि विशेष ठाउँ बनिदियो ।’
डिजिटल प्लेटफर्मबाट अभिनयतर्फ आएकी मलिका युवाहरूलाई यस्ता प्लेटफर्मलाई सोचेर प्रयोग गर्न सुझाव दिन्छिन् । ‘सायद मलाई यही प्लेटफर्मबाट आउन लेखिएको थियो र म आएँ । त्यसैले यो प्लेटफर्मलाई सही तरिकाले चलाउन सके मात्र फलदायी हुन्छ भन्ने लाग्छ,’ उनले भनिन् ।
