कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

‘गीतको पनि समयकाल हुन्छ’

आफूलाई गीतकारभन्दा संगीतकारका रूपमा चिनाउन मन पराउँछन्, दीपक शर्मा । ‘मेरा लगभग २०/२५ गीत करोड क्लबमा पुगेका छन्,’ उनले भने, ‘गीत चल्ने र नचल्ने कुरा दर्शकको स्वादमा भर पर्ने रहेछ ।’
रीना मोक्तान

काठमाडौँ — म्याग्दीको नर्सिङ युवा क्लबले दसैं/तिहारमा हुने सांस्कृतिक कार्यक्रममा सधैं गायन कला पस्कन्थ्यो । क्लबमा हुँदा दीपक शर्मा गीत लेख्थे, लय मिलाउँथे । साथीहरू मादल, बाँसुरी बजाउन माहिर, नृत्य र गायनमा दीपकभन्दा अगाडि थिए । तर, संगीतमा दीपकको झुकाव साथीहरूको भन्दा धेरै थियो । वाद्यवादनमा उति साह्रो ननिखारिए पनि संगीत सिर्जना गर्न उनी औधि रुचाउँथे ।

‘गीतको पनि समयकाल हुन्छ’

कहाँ मादलको धुन राख्ने, बाँसुरीको धुन कहाँ मिसाउने ? त्यतातिर दीपकको ध्यान जान्थ्यो । अहिले दीपकले बुझेका छन्, संगीतकार हुने छाँटकाँट विद्यालय छँदै क्लबको कार्यक्रममा उनीभित्र हुर्कंदै थियो ।

विसं. २०५९ मा एसएलसी दिएर ०६१ सालतिर काठमाडौं आइपुग्दा यो सहरजस्तै संगीतकार भन्ने शब्द पनि दीपकका लागि नौलो थियो । संगीत सिक्न काठमाडौंमा संघर्ष गरिरहँदा दीपकले कहिले भारी बोके, कहिले जुत्ता पसलमा काम गरे । श्रुति संगीत विद्यालयको रिसेप्सनिस्ट बने, लुगा पसलदेखि होटलको म्यानेजरका रूपमा समेत काम गरे । तर, संगीतप्रतिको लगाव भने कहिल्यै कम भएन ।

रेडियो नेपालले संगीतकार शम्भुजित बाँस्कोटा भन्दै उद्घोष गर्दा दीपकलाई लाग्थ्यो– मादल, बाँसुरी एकै पटक बजाउन जान्ने व्यक्ति पो संगीतकार हो कि ! त्यतिन्जेल पनि संगीतकारले लय बनाउँछ, धुन बनाउँछ भन्ने हेक्का थिएन । वाद्यवादनमा पोख्त व्यक्तिलाई नै उनी संगीतकार ठान्थे । पुतलीसडकस्थित श्रुति संगीत विद्यालयमा पढ्न थालेपछि बल्ल आफ्ना आँखा खुलेको उनले बताए । ‘कस्तो शैलीको गीत बनाउने भनेर त्यसको रूपरेखा कोर्नेलाई पो संगीतकार भनिँदो रहेछ,’ दीपक संगीतमा प्रवेश गर्दाको सुरुवाती ज्ञान सुनाउँछन्, ‘त्यहाँ संगीत सिक्न थालेपछि मात्रै मलाई संगीतकार के हो भन्ने थाहा भो । अनि गाउँको क्लबमा हुँदा मैले निर्वाह गरेको भूमिका संगीतकारको रहेछ भन्ने थाहा पाएँ ।’

संगीत विद्यालयमा हुँदा दीपकले गायन पनि अभ्यास गरे । तर, सिकाइको एक वर्ष नबित्दै आफूभित्र गायन कला भेटेनन् । तर, संगीतबाट टाढिनुपर्छ भन्ने लागेन । ‘जतिबेला पनि संगीत सुन्नुपर्ने । अनि संगीतका कुनै विधामा त मेरो दक्षता भेटिएला नि भन्ने लागिरह्यो,’ उनले भने । संगीत संयोजनमा भविष्य बनाउने सोच्दै पियानो, गितार सिक्न थाले । पहिलो पटक आफ्नै लेखन र संगीतमा निकालेको ‘ढल्के पिपल’ असफलतातिरै ढल्कियो ।

त्यसपछि रमित ढुंगाना अभिनीत ‘तेजाब’ फिल्ममा ‘जहाँ तिमी त्यहीँ फूलको वर्षा’ लगायतका ४ गीत गरे । फिल्म डब्बा भएसँगै, गीत पनि डब्बाभित्रै बन्द भएजस्तै भयो । डाक्टर भोला रिजालले लेखेको ‘मलाई माया गरिदेऊ’ गीतमा संगीत भर्दै अञ्जुको आवाजमा रेकर्ड गराए । त्यो गीत पनि दर्शकले रुचाइदिएनन् । त्यसपछि ‘तहल्का डटकम’ लगायत केही फिल्ममा निरन्तर संगीत गरे । तिनताका गरेका फिल्मका कुनै गीत चलेनन् । लगातारको असफलताले संगीतमा आफूलाई तिखार्नुपर्ने लाग्यो, अनि गुरुदेव कामतसँग क्लासिकल भोकल सिके, राजकुमार मालाकारसँग गितारको ज्ञान बटुले । प्रेमचन्द्र ओझैयासँग तबला पनि सिके । तीन वर्ष रेकर्डिङ बन्द गरेर सिकेका यही सिकाइसँगै फेरि उनी संगीत संयोजनमा फर्किए ।

त्यतिबेलाका ती गीत हिट भइदिएको भए अहिले आफू यो स्थानसम्म आइपुग्न असम्भव रहेको दीपकको भनाइ छ । किन त ? ‘त्यतिबेला ती गीत चलेका भए संगीत त सजिलो रहेछ, सस्तो लोकप्रियता रहेछ भन्ने लाग्ने थियो होला,’ उनले भने । उनी निरन्तर सुन्दर सिर्जनातर्फ लागिरहे । राम्रा ब्यानरका निर्देशककहाँ धाइरहे ।

अडियो क्यासेटबाट सीआरबीटी र पीआरबीटीतर्फ संगीत रूपान्तरण हुँदै गर्दाको समयमा यो क्षेत्रमा प्रवेश गरेका हुन्, दीपक । बिस्तारै ‘युट्युब’ फस्टाउँदै आयो । तीन वर्षको अन्तरालपछि गरेको ‘सम्झिराख है’ भन्ने फिल्मको ‘हरपल मनमा..’ बोलको गीत चल्यो । ‘मलाई आफ्नो बनाएर’, ‘जिन्दगीको सवाल छ’ भन्ने गीतलाई सीआरबीटी लक्षित गर्दै बजारमा ल्याए, ती गीत केही हदसम्म चले पनि । त्यसपछि निर्देशक छविराज ओझाको ‘हवल्दार सुन्तली’ का लागि संगीत भरेको गीत ‘तिम्रो डोला डोला हातमा’ निकै चल्यो ।

आफ्नो शब्द तथा संगीतको गीत चलेपछि भने दीपकले आफ्नो पहिचान बनाउँदै आए । छविकै फिल्म ‘किस्मत २’ को अर्को गीत ‘तिम्रो पिक्चर’ पनि हिट भयो । ‘छक्का पञ्जा’ को ‘देखन चम्पा’ लाई दर्शकले अत्यधिक रुचाइदिएसँगै फिल्मतिर दीपक जम्न थाले । त्यसअघि थुप्रै फिल्म निर्माताहरूले अस्वीकृत गरेको यो गीतलाई ‘छक्का पञ्जा’ को टोलीले मन पराउँदाको समय अझै दीपकले बिर्सेका छैनन् । त्यो दिन ‘पशुपति प्रसाद’ को प्रिमियर थियो । प्रिमियरअघि दीपकराज आफ्नो टिमसहित उनको अफिस आइपुगे ।

उनीहरूका अगाडि ३/४ वटा गीत गाइसकेपछि ‘देखन चम्पा’ सुनाए, टिमलाई गीत मन पर्‍यो । ‘खासमा अरु ३/४ वटा फिल्मलाई मैले पहिल्यै यो गीत सुनाइसकेको थिएँ । उनीहरूले खासै रुचि नदेखाउँदा, यो गीत खासै रहेनछ भन्ने सोचेर कति साथीलाई एल्बममा राख्न भनें । उनीहरूले पनि मानेका थिएनन् । तर, गितार बजाएर मैले जब यो गीत गाएँ, ‘छक्का पञ्जा’ को टोलीले गीत मन परायो,’ दीपकले त्यो क्षण सम्झे ।

खासमा ‘देखन चम्पा’ कुनै ब्यानरले ‘राउटे’ शीर्षकमा बनाउँदै गरेको फिल्मका लागि तयार पारिएको थियो । राउटे समुदायले कताको भेगको लवज पकड्दो हुन् त ? तमी, हमी लबज मिसाए हुन्छ होला भन्ने सोचले लेख्न लगाए । गीतलाई त्यो टोलीले मन पराएन, उनीसँग त्यो गीत लामो समयसम्म रह्यो । ‘छक्का पञ्जा’ को त्यो गीतलाई बजारमा आइरहेको भन्दा फरक स्वादका रूपमा दर्शकले मन पराइदिएसँगै चर्चित बन्यो । ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ बोलको गीतको कथा पनि ‘देखन चम्पा’ को जस्तै छ । सुरुमा छविलाई दीपकले अन्य २/४ गीत सुनाए । जब, ‘पर्खपर्ख मायालु’ गाएर सुनाए, छविले त्यही गीत रोजेको दीपकले सुनाए ।

दीपककै शब्द तथा संगीत रहेको ‘पिरिम नलाउने’ पनि उनको अत्यधिक चलेको गीतमध्येमा पर्छ । मेलिना राई र आशिष सचिनको शब्दमा तयार भएको यो गीतलाई अहिलेसम्म ११ करोडले युट्युबमा हेरेका छन् । आफ्नो अनुभूतिलाई शब्दमा उतारेर दीपकले यो गीत तयार पारेको बताए । १८ वर्षको उमेरमै दीपकको दाह्री फुल्यो, चस्मा लगाउँथे पावरवाला । कम उमेरमै दाह्री फुलेको कुरालाई मनमा खेलाउँदै ऐना हेर्दै गर्दा शब्द फुर्‍यो– ‘दाह्री फुल्यो बैंसैमा, चस्मा लाउँछौ पावर !’

आफ्नी प्रेमिकाले आफूलाई हेर्दै गुनासो गरिरहेको अवस्थालाई शब्दमा गुन्न थाले । त्यसमा लाहुर जाने अनि ती लाहुरेलाई पर्खनेहरूका भावना मिसाउँदै अन्तरा लेख्दै गए । ‘गीतको उठान त मेरै व्यक्तिगत जीवनबाट थियो । तर, गीतका शब्दले मलाई गाउँ फर्कायो अनि वास्तविक रूपमा विदेश जाने अनि बिदेसिएकाहरूलाई पर्खनेतर्फ शब्द मोडिँदै गयो,’ उनले भने ।

‘छक्का पञ्जा ३’ कै लागि गरेको ‘पहिलो नम्बरमा’ चलिरहँदा ‘हिजोआजको कुरा’ को ‘माया जदौ’ ले फिल्म क्षेत्रमा दीपकको पहिचानको आयतन बढाइदियो । आनन्द अधिकारीले लेखेको ‘माया जदौ’ बोलको गीत रामकृष्ण ढकालको एल्बमका लागि लेखिएको रहेछ । एल्बममा त्यो गीत नआउँदै फिल्मको टिमले गीतलाई ‘हिजोआजको कुरा’ मा राखे ।

तस्बिरहरु : दीपक केसी/कान्तिपुर

यसबीच ‘लभ स्टेसन’ को ‘घाम जून चाहिँदैन’, ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ लगायतका गीत पनि गरे, तर दीपकका अन्य गीतले झैं तिनले दर्शकको मन जितेनन् । अहिले उनी ‘छक्का पञ्जा ५’ का लागि काम गरिरहेका छन् । ८ सयभन्दा बढी गीतमा संगीत भरेको दाबी गर्ने दीपकले २ सय गीत आफैंले लेखेका छन् ।

तर उनी आफूलाई गीतकारभन्दा पनि संगीतकारका रूपमा चिनाउन बढी रुचाउँछन् । ‘मेरा लगभग २०/२५ गीत करोड क्लबमा पुगेका छन् । खासमा गीत चल्ने र नचल्ने कुरा दर्शकको स्वादमा भर पर्ने रहेछ । कहिलेकाहीँ हामी दर्शकलाई यो गीत मन पर्छ भनेर बनाउँछौं तर त्यो गीत उनीहरूले मन पराइदिँदैनन् । खासमा गीतको पनि समयकाल हुँदो रहेछ,’ दीपकले भने ।

आफूले गरेका गीत चर्चामा आइदिँदाको खुसीमा रमाइरहँदा रोयल्टीको विषयले भने दीपकलाई चिमोट्छ । आफूले लेखेका, संगीत गरेका गीतले करोडौं भ्युज कमाइरहँदा आफूले भने रोयल्टीका नाममा केही हजार पनि प्राप्त नगरेको गुनासो उनीसँग छ । ‘मैले गरेका अधिकांश फिल्मका गीत हिट छन् । हामीले फिल्मका लागि गीत त दिन्छौं, तर त्यो गीत दिइरहँदा हामीले हाम्रो बौद्धिक अधिकार त बेचेका होइनौं नि ! हामीले त व्यापारिक प्रयोजनका लागि दिएका हौं,’ उनले भने, ‘तर, ती फिल्म डिजिटल प्लेटफर्ममा जाँदा ती फिल्मका गीत चल्दा रोयल्टीका हिसाबले मैले आजसम्म केही पाएको छैन ।’

प्रकाशित : असार २६, २०८१ ०५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×