बन्द सत्रमा दुवै पक्षले एकअर्काको अस्तित्व, वैधानिकता र सम्मान स्वीकार गर्दै सार्वजनिक वा निजी मञ्चमा विरोधाभासपूर्ण अभिव्यक्ति वा प्रचारप्रसार नगर्ने सहमति पनि जुटेको छ।
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको बृहत् एकताको साधारणसभा टेक्ससमा सम्पन्न भएको छ। दुईदिने साधारणसभाले संस्थाभित्र लामो समयदेखि रहेको विभाजनलाई एकतातर्फ थप अघि बढाउने विषयलगायतमा निर्णय गरेको छ।
साधारणसभाको पहिलो दिन दुवै पक्षका अध्यक्ष सतेन्द्र साह र विकास उप्रेतीको संयुक्त सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको थियो। बन्द सत्रमा भने दुवै पक्षका कार्ययोजनाहरू प्रस्तुत गरिए। बन्द सत्रले विधान संशोधन गर्दै मनोनित पदाधिकारीलाई पनि निर्वाचित बोर्ड सदस्यसरहकै अधिकार, जिम्मेवारी र हैसियत दिने व्यवस्था समेत पारित गरेको छ। आगामी निर्वाचनका लागि पूर्वप्रवक्ता ओम भट्टराईको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन समेत गरिएको छ।
बन्द सत्रमा दुवै पक्षले एकअर्काको अस्तित्व, वैधानिकता र सम्मान स्वीकार गर्दै सार्वजनिक वा निजी मञ्चमा विरोधाभासपूर्ण अभिव्यक्ति वा प्रचारप्रसार नगर्ने सहमति पनि जुटेको छ। बन्द सत्रमा पेस गरिएका बाँकी १५ बुँदामा सहमति नजुटे पनि यसले एकताको बाटो खोलेको दुवै पक्षका सहभागीहरूले बताएका छन्।
