सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले बताए ।
काठमाडौँ — ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट २०२६ आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्बर २५ देखि २७, २०२६ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना हुने तीनदिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलनमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले बताए । 'एनएबिआईएसले विचार, पूँजी र मानिसहरूलाई जोड्दै नेपाल र अमेरिकाबीच बलियो आर्थिक सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ,' श्रेष्ठले भने ।
उनले नेपालमा पर्यटन, जलविद्युत, सूचना प्रविधि, आधुनिक कृषि, पूर्वाधार विकास, उत्पादनमूलक उद्योग तथा स्टार्टअप क्षेत्रमा ठूलो सम्भावना रहेको बताए ।
उनले अमेरिकाभर रहेका नेपाली व्यवसायीहरूलाई सशक्त बनाउनु पनि एनएबिआईएसको महत्वपूर्ण उद्देश्य रहेको बताए। न्यूयोर्कदेखि क्यालिफोर्निया, टेक्सासदेखि इलिनोइस र फ्लोरिडादेखि वासिङ्टनसम्म नेपाली उद्यमीहरूले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायात क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको उनले बताए ।
तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालका लगानी सम्भावना, अन्तर्राष्ट्रिय व्यापार तथा पूँजी साझेदारी, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित नवप्रवर्तन, तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा छलफल हुनेछ।
