श्रीलंका र माल्दिभ्सका नेपाली नागरिकलाई लक्षित गरेर दूतावासले राहदानी, कन्सुलर तथा कानुनी सहायता दिने घुम्ती शिविर दोहोर्याएको छ ।
काठमाडौँ — श्रीलंकाको राजधानी कोलम्बोस्थित नेपाली दूतावासले माल्दिभ्सको मालेमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कन्सुलर सेवा शिविर सम्पन्न भएको जनाएको छ ।
दूतावासका अनुसार कार्यवाहक राजदूत विजयकुमार राउतको प्रतिनिधित्वमा सञ्चालन गरिएको शिविरमार्फत जुन ५ मा ५० जनाभन्दा धेरै नेपालीहरूलाई राहदानी नवीकरणसहित विभिन्न कन्सुलर सेवा प्रदान गरिएको थियो ।
सेवाग्राहीको चापलाई ध्यानमा राख्दै दूतावासले जुन ७ मा पुनः शिविर सञ्चालन गरेको जनाएको छ । दोस्रो दिन करिब ४० नेपाली नागरिकलाई राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराएको थियो । साथै, दूतावासका तृतीय सचिव अरेन्द्र महर्जनको सहकार्यमा २० भन्दा बढी नेपालीलाई कानुनी सहायता र परामर्श सेवा प्रदान गरिएको दूतावासले जनाएको छ ।
श्रीलंका र माल्दिभ्समा रहेका नेपाली नागरिकको सुविधाका लागि आगामी दिनमा पनि यस्ता घुम्ती शिविर सञ्चालन गर्ने दूतावासले प्रतिबद्धता व्यक्त गरेको छ ।
