एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)का उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा सभामुख डीपी अर्यालले यस्तो धारणा राखेका हुन् ।
काठमाडौं — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसारभर छरिएर रहेका नेपाली मूलका मानिसलाई फराकिलो ढंगले समेट्नु आवश्यक रहेको बताएका छन् । एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)का उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा सभामुख अर्यालले यस्तो धारणा राखेका हुन् ।
हालै भएको भेटमा उनले नेपाली मूलका मानिसलाई फराकिलो ढंगले समेट्न प्रयास गरिने र राष्ट्र हित हुने गरी कानुन बनाएर अघि बढ्ने जानकारी दिएका थिए ।
उक्त अवसरमा एएनओ उपाध्यक्ष पन्तले संस्थाले जतिसुकै पुस्ता भए पनि नेपाली मूलका मानिसलाई सांस्कृतिक रुपमा नेपालसँग जोड्ने र जहाँ बसे पनि नेपालीपनको सम्बर्द्धन गर्न सक्ने वातावरण बनाउन क्रियाशील रहेको जानकारी दिए ।
उनले छलफलमा रहेको ऐनको मस्यौदामा उल्लेखित नेपाली उत्पतिका व्यक्तिको परिभाषालगायतका विषयमा संस्थाका तर्फबाट सुझाव रहेको जानकारी दिँदा सबै सरोकारवालासँग छलफलको आवश्यकता रहेको बताए ।
यसैबीच एएनओका महासचिव चूडामणि भट्टराई र बोर्डअफ ट्रष्टी सदस्य ओमराज गुरुङले परराष्ट्र सचिव अमृत राईसँग भेट गरी मन्त्रालयले तयार गरेको ऐनको मस्यौदामा एएनओका तर्फबाट तयार गरिएको सुझावपत्र बुझाएका थिए । पत्र बुझ्दै सचिव राईले वृहत छलफलका लागि मन्त्रालय तयार रहेको जानकारी गराएका थिए ।
