सिक्किम अब पूर्ण साक्षर राज्य

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले गान्तोकस्थित मनन केन्द्रमा आयोजित सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहका क्रममा राज्यलाई ‘उल्लास–नव भारत साक्षरता कार्यक्रम’ अन्तर्गत पूर्ण साक्षर राज्य घोषणा गरेका हुन् ।

जेष्ठ १४, २०८३

पर्वत पोर्तेल

Sikkim now fully literate state

What you should know

विराटनगर — नेपालीभाषी बहुल भारतीय राज्य सिक्किम पूर्ण साक्षर राज्य घोषणा भएको छ । मिजोरम, गोवा, त्रिपुरा, हिमाचल र लद्दाखपछि ‘उल्लास’ कार्यक्रमअन्तर्गत पूर्ण साक्षर घोषणा हुने भारतको अर्को राज्य सिक्किम बनेको हो । 

अब सिक्किम सरकारले डिजिटल साक्षरता, जीवनोपयोगी सीप, व्यावसायिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रमलाई अगाडि बढाउने जनाएको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले बुधबार गान्तोकस्थित मनन केन्द्रमा आयोजित सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहका क्रममा राज्यलाई ‘उल्लास–नव भारत साक्षरता कार्यक्रम’ अन्तर्गत पूर्ण साक्षर राज्य घोषणा गरेका हुन् ।

भारतकी राष्ट्रपति दौपदी मुर्मुको उपस्थितिमा गोलेले राज्यलाई पूर्ण साक्षर घोषित गरेका हुन् । राष्ट्रपति मुर्मु बुधबार तीनदिने सिक्किम भ्रमणमा आएकी हुन् । उनले भारत–चीन सीमावर्ती नाथुला नाकासमेत भ्रमण गर्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

राष्ट्रपति मुर्मुले सिक्किम सरकारले हासिल गरेको उपलब्धिलाई ‘गौरवपूर्ण र ऐतिहासिक क्षण’ को संज्ञा दिँदै राज्य सरकार र जनतालाई बधाई दिइन् । उनले शिक्षा र सशक्तीकरणप्रतिको सामूहिक प्रतिबद्धताले सिक्किमलाई नयाँ उचाइमा पुर्‍याएको बताइन् ।

राज्यपाल माथुरले पनि सरकार, शैक्षिक संस्था र नागरिकको संयुक्त प्रयासबाट यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै साक्षरता समावेशी विकासको आधार भएको बताए ।

भारत सरकारको शिक्षा मन्त्रालयले तोकेको मापदण्डअनुसार १५ वर्ष वा सोभन्दा माथिका जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा बढी साक्षर भए राज्यलाई पूर्ण साक्षर मानिन्छ ।

सिक्किम सरकारअन्तर्गत आर्थिक, तथ्यांक, अनुगमन तथा मूल्यांकन निर्देशनालयले सन् २०२२ मा गरेको सर्वेक्षणअनुसार राज्यमा १५ वर्षमाथिको जनसंख्या ५ लाख ३० हजार ४६ रहेको छ ।

जसमा १५ हजार ३ सय ६१ निरक्षर वयस्क पहिचान गरिएको थियो । तीमध्ये १४ हजार ४ सय ४७ जनाले राष्ट्रिय मुक्त विद्यालय शिक्षा संस्थान अन्तर्गतको आधारभूत साक्षरता तथा संख्यात्मक मूल्यांकन परीक्षा उत्तीर्ण गरी साक्षर प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस आधारमा सिक्किमको साक्षरता दर ९९ दशमलव ८२ प्रतिशत पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । जुन पूर्ण साक्षरताका लागि आवश्यक ९५ प्रतिशतको मापदण्डभन्दा निकै माथि हो ।

‘उल्लास–नव भारत साक्षरता कार्यक्रम’ सिक्किममा १४ नोभेम्बर २०२२ मा सुरु गरिएको थियो । त्यसयता राज्यका सबै ६ जिल्ला, ३४ ब्लक, १ सय ९९ ग्राम पञ्चायत इकाइ, १ हजार १ सय ४९ वडा तथा सबै नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully