एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौं राष्ट्रिय शाखा विस्तार गरेको छ ।
What you should know
काठमाडौँ — विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौं राष्ट्रिय शाखा विस्तार गरेको छ । शनिबार टोरन्टो,अन्टारियोमा आयोजित एक विशेष समारोहकाबीच चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
लामो समयदेखि क्यानाडामा प्राध्यापन क्षेत्रमा संलग्न भई हाल अवकाशप्राप्त नेपाली भाषी चित्र प्रधानको नेतृत्वमा गठन भएको यस समितिले क्यानाडामा रहेका विविध नेपाली भाषी समुदायबीच समन्वयकारी भूमिका खेल्ने एएनओले विज्ञप्तिमा जनाएको छ ।
यस्तै, उपाध्यक्षमा एमी कर्माचार्य(बर्मेली थाई, नेपाली मूल), महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल(भुटानी नेपाली मूल), कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चुनिएका छन् ।
बोर्ड सदस्यहरूमा भने भीम पाठक (नीर भीम), सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले भने, 'एएनओ एनआरएनएको प्रतिस्पर्धी संस्था नभई त्यसले समेट्न नसकेका विश्वभरका नेपाली मूलका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्ने एउटा साझा चौतारी हो ।' यस्तै, संस्थाका केन्द्रीय महासचिव चूडामणि भट्टराईले विश्वका ९ देशमा संस्था पुगिसकेको र अबको लक्ष्य युरोप रहेको जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष चित्र प्रधानले क्यानाडामा रहेका नेपाली, भुटानी तथा भारतीय नेपाली भाषी समुदायलाई एकजुट बनाउँदै नेपाली कला र संस्कृतिको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटा, कोषाध्यक्ष इन्दिरा रिजाल, प्राध्यापक डा. तुलसी धरेल, डा. गोविन्दसिंह रावत, प्राध्यापक डा. राजेन्द्र पन्थी, सञ्चारकर्मी शैलेस श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
