गत ८ चैतमा सरकारले नेपाली मूलका विदेशी नागरिकका लागि विशेष व्यवस्था गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा डेस्क स्थापना गरेको थियो ।
न्यूयोर्क — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा नेपाली मूलका नागरिकहरूका लागि छुट्टै डेस्क स्थापना गरिएकोमा अमेरिकाको ओहायोस्थित एशोसिएशन अफ नेपाली ओरिजिन(एएनओ)ले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
हालै अमेरिकाको ओहायोमा आयोजित एक कार्यक्रममा एएनओका अध्यक्ष डिल्ली अधिकारीले अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणलाई धन्यवादपत्र हस्तान्तरण गरेका हुन् ।
धन्यवादपत्र ग्रहण गर्दै कार्यवाहक राजदूत आरणले सरकारको कामको खुलेर प्रशंशा गरेको पत्र पाउँदा हर्षित भएको बताए ।
कार्यक्रममा एएनओ अध्यक्ष अधिकारीले नेपाली मूलका नागरिकलाई भावनात्मक रुपले जोड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अध्यागमनमा डेस्क स्थापना गरेकोमा विश्वभरिका नेपाली उत्साहित भएको बताएका थिए । एएनओको निवेदनका आधारमा गत ८ चैतमा सरकारले नेपाली मूलका विदेशी नागरिककका लागि विशेष व्यवस्था गर्दै डेस्क स्थापना गरेको थियो ।
कार्यक्रममा हाल नेपालमा छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐन २०८२ को पहिलो मस्यौदामा नेपाली मूलका मानिसहरूबीच भेदभाव गरेकोप्रति एएनओले सरकारको ध्यानाकर्षण गराएको थियो ।
