गोदावरी नगरपालिका र अस्ट्रेलियाको विन्डम सिटीबीच मित्रता सहर' सम्झौता 

सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

वैशाख २२, २०८३

कान्तिपुर संवाददाता

'Friendship City' agreement between Godavari Municipality and Wyndham City of Australia

काठमाडौँ — ललितपुरको गोदावरी नगरपालिका र अस्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटीबीच औपचारिक रूपमा 'मित्रता सहर' सम्झौता भएको छ । 

विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गरेका छन् । उनीहरुले सम्झौताका लागि आवश्यक समन्वय गरेको भन्दै पर्यटन व्यवसायी तथा अभियन्ता डिएन घिसिङलाई धन्यवाद दिए । 

दुवै पक्षले यस सहकार्यलाई स्थानीय तहमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरेका छन् । 'यस ऐतिहासिक सम्झौताले दुई नगरबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएको छ,' सम्झौतामा भनिएको छ । 

ललितपुरको गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक सम्पदाले समृद्ध क्षेत्रका रूपमा परिचित छ । त्यस्तै, विन्डम सिटी आधुनिक पूर्वाधार, बहुसांस्कृतिक समाज र दिगो शहरी विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन्छ । 

सम्झौतामा दुवै पक्षले भविष्यमा आपसी भ्रमण, सांस्कृतिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । 

कार्यक्रममा नेपाली मूलका उद्यमी, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । सहभागीहरूले सम्झौतालाई नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई स्थानीय तहमा अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन् । 

कार्यक्रममा वक्ताहरूले शिक्षा, पर्यटन, संस्कृति, वातावरण संरक्षण, आर्थिक विकास तथा समुदाय विकासका क्षेत्रमा सहकार्यले दुई शहरलाई दीर्घकालीन फाइदा पुग्ने अपेक्षा गरिएको व्यक्त गरे । 

कान्तिपुर

Link copied successfully