शुक्रबार बेइजिङस्थित कृषि प्रदर्शनी केन्द्रमा सुरू भएको चिया प्रदर्शनीमा नेपालले ३ वटा स्टल पाएको छ । जहाँ ५ जना नेपाली चिया उत्पादकहरू सहभागी छन् ।
बेइजिङ — विश्वकै ठूलो बजार चीनमा नेपाली चियाले प्रवर्द्धनको अवसर पाएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चिया प्रदर्शनीको २०औं संस्करणमा नेपालले पहिलोपटक आफ्नो उत्पादनको प्रवर्द्धन अवसर पाएको हो ।
शुक्रबार बेइजिङस्थित कृषि प्रदर्शनी केन्द्रमा सुरू भएको चिया प्रदर्शनीमा नेपालले ३ वटा स्टल पाएको छ । जहाँ ५ जना नेपाली चिया उत्पादकहरू सहभागी छन् ।
प्रदर्शनी उद्घाटन समारोहमा श्रीलंका, घाना, नेपाल र अन्य देशका चीनका लागि राजदूतहरू सहभागी थिए ।
नेपाली राजदूतावासकी इकोनोमिक मिनिष्टर पार्वती अर्यालले हावापानीका हिसाबले नेपालको चिया अर्ग्यानिक र शुद्ध रहेको दाबी गर्दै विश्व चिया बजारमा नेपाली जैविक चियाको माग बढ्दै गएको बताइन् । नेपालमा १३ हजार १३० मिलियन टन सीटीसी चिया र २ हजार मिलियन टन अर्थोडक्स चिया उत्पादन हुने अर्यालको भनाइ थियो ।
नेपालको चिया घरेलु बजारमा खपत हुनुका साथै चीन, भारत, अमेरिका, अष्ट्रेलिया, इटाली, पाकिस्तान, बंगलादेश जस्ता प्रमुख बजारहरूमा निर्यात हुन्छ । उत्पादित नेपाली अर्थोडक्स चिया प्रायः जापान, अमेरिका, जर्मनी, भारत र अन्य गन्तव्यहरूमा निर्यात हुने गरेको अर्यालले जानकारी गराइन् । प्रदर्शनी सोमबारसम्म चल्नेछ ।
यस पटकको चिया प्रदर्शनीको प्रमुख विषयवस्तु ग्रामीण पुनरुत्थानको सेवा गर्ने भन्ने रहेको छ । अविकसित क्षेत्रहरूका लागि चिया ब्रान्ड प्रवर्द्धन सम्मेलनले ब्रान्ड प्रवर्द्धन च्यानलहरू स्थापना गर्ने अपेक्षा गरेको नेपाली व्यवसायीहरूले बताए । हाइअल्टिट्युडमा उत्पादन हुने चिया चिनियाँले निकै मन पराउने ठमेलमा चिया व्यवसायी प्रकाश लामाले बताए । उनले भने, ‘चीनमा पहिलेदेखि नै यस्तो प्रदर्शनी हुने गरेको थियो । नेपालको लागि चीन नै चिया बजार भए पनि पहिलो पटक अवसर पाउनु राम्रो अवसर हो ।’ 
यस वर्षको चिया प्रदर्शनीको मुख्य आकर्षण वसन्त चिया उत्पादन र बेचबिखन ‘म्याचमेकिङ’ रहेको छ । एक्स्पोले हरियो चिया, कालो चिया, गाढा चिया, सेतो चिया, पहेंलो चिया, ओलोङ चिया, फूल चिया, र हर्बल चिया वर्गहरूलाई पनि प्रदर्शनीमा ल्याएको छ । उद्घाटन अवधिमा श्रीलंकाली सिलोन कालो चिया र नेपाली उच्च-पहाडी चिया पनि अन्तर्राष्ट्रिय प्रसिद्ध चिया क्षेत्रमा प्रस्तुत गरिएको थियो ।
प्रदर्शनी अवधिभरि व्यवसायिक प्रतियोगिता र सांस्कृतिक गतिविधिहरू हुने चिनियाँ संचारमाध्यमहरूले जनाएका छन् ।
