गत १० मार्चमा संयुक्त राष्ट्र संघको महासभाले नेपालको अगुवाईमा नेपालको प्रस्ताव पारित गर्दै १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने निश्चित गरेको थियो ।
What you should know
बेइजिङ — चीनस्थित नेपाली कूटनीतिक नियोगहरूले आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गरेका छन् । बुधबार चीनको ग्वान्जाओ, छङ्तु र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले चिनियाँ तथा नेपाली समुदायमाँझ आयोजना गरेको कार्यक्रममा नेपाललाई आरोग्य गन्तव्यको रुपमा प्रवर्द्धन गरेका हुन् ।
बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा कार्यवाहक राजदूत रोशन खनालले नेपालको आयुर्वेद, ध्यान, स्वास्थ्यलगायतका विषयमा जानकारी दिएकी थिइन् । ल्हासामा बुधबार साँझ आरोग्य दिवस मनाएको महावाणिज्यदूत लक्ष्मी निरौलाले कान्तिपुरलाई बताए । छङ्तुस्थित महाबाणिज्यदूत सुरेश राउतले पर्यटनका साथै अर्थतन्त्रसँग पनि दिवसलाई जोडेर मनाएको बताए ।
दिवसको अवसरमा आयोजित योग, ध्यान तथा ध्वनि पद्धति कार्यक्रममा नेपालको अगुवाईमा अन्तर्राष्ट्रिय दिवसको घोषणा हुनु नेपालका लागि बहुपक्षीय कुटनीतिको लागि गौरवपूर्ण उपलब्धि भएको सहभागीहरूले बताए । नेपालले सांस्कृतिक र प्राकृतिक सम्पदाको एक भागको रूपमा आरोग्यलाई अंगीकार गर्दै आएको ग्वान्जाओस्थित महाबणिज्यदूत भरत खनालले बताए । उनले हिमालयको अँगालोमा नेपालले हिमाल, वायु, योग, प्राणायाम, ध्यान र आयुर्वेदको विरासत बोकेको सुनाए । उनले भने, ‘यी परम्पराहरू केवल नेपालका खजाना मात्र होइनन् । मन, शरीर र आत्माको पालनपोषणको लागि विश्वलाई उपहार हुन् ।’
सरकारले सन् २०२७ लाई आरोग्य वर्षको रूपमा मानाउने घोषणा गरेको छ । कचौरा ध्वनि उपचार विधि, शान्ति, आयुर्वेदिक ज्ञान र प्राकृतिक परिदृश्यको सौन्दर्य अनुभव गर्न चिनियाँहरूलाई नियोगहरूले आमन्त्रण गरेका छन् । अमर गुरुका नामले परिचित योग प्रशिक्षक तथा हिमाली सभ्यताका अभ्यासी रमेश सिटौलाले ग्वान्जाओका सहभागीहरूलाई योगाभ्यास, ध्यान गराउँदै श्वासप्रश्वास जागरण, तन र मनबीचको संयोजनमा जोड दिए । सहभागीहरूले प्रत्यक्ष बाउल प्रदर्शनी र ध्वनि उपचार अनुभव लिएका थिए ।
गत १० मार्चमा संयुक्त राष्ट्र संघको महासभाले नेपालको अगुवाईमा एउटा प्रस्ताव पारित गर्दै १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा निश्चित गरेको थियो ।
