पक्राउ पर्नेमा ३ नेपाली, ३ भारतीय, १ बंगलादेशी, १ मलेसियाली पुरुष र १ भियतनामी महिला (कम्पनी निर्देशक) रहेका छन् । उनीहरूको उमेर २६ देखि ६१ वर्षबीच रहेको छ
What you should know
काठमाडौं — मलेसियाको अध्यागमन विभागले आप्रवासी कामदारको नक्कली कागजात बनाएको आरोपमा ३ नेपालीसहित ९ जनालाई पक्राउ गरेको छ । विभागले राजधानी क्वालालाम्पुर क्षेत्रका ६ स्थानमा सोमबार र मंगलबार गरेको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३ नेपाली, ३ भारतीय, १ बंगलादेशी, १ मलेसियाली पुरुष र १ भियतनामी महिला (कम्पनी निर्देशक) रहेका छन् । उनीहरूको उमेर २६ देखि ६१ वर्षबीच रहेको छ ।
अध्यागमनका महानिर्देशक जाकारिय शअबानका अनुसार उक्त गिरोह ७ वर्षदेखि सक्रिय थियो । सार्वजनिक सूचना र सञ्चार माध्यमका आधारमा करिब ६ महिनाको अनुसन्धानपछि कारबाही गरेको उनले बताएका छन् । उक्त समूहले यस अवधिमा करिब १० करोड मलेसियन रिङ्गेट बराबरको अवैध आम्दानी गरेको अनुमान गरिएको छ । उनीहरूबाट ई-पास, सुरक्षा स्टिकर र सम्बन्धित स्लिपसहित अध्यागमनसम्बन्धी परिमार्जित कागजात बरामद गरिएको थियो । यस्तै, विभिन्न देशका १११ वटा राहदानी, १० थान ल्यापटप, ६ थान मोबाइल फोन र करिब ४ हजार रिङ्गेट नगद बरामद भएको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा गिरोहले अवैध रूपमा विदेशी नागरिकलाई मलेसिया भित्र्याउने कामसमेत गर्दै आएको हुनसक्ने देखिएको छ । प्रत्येक व्यक्तिबाट ५ हजारदेखि ६ हजार रिङ्गेटसम्म असुल्ने गरिएको खुलेको छ ।
यो घटनालाई अध्यागमन ऐन तथा सन् २००१ को धनशोधन तथा आतंकवादी वित्तीयकरण निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको जनाइएको छ ।
पक्राउ पर्नेमध्य ४३ वर्षीय महेन्द्रजंग शाही पनि छन् । उनलाई गिरोहको मुख्य अभियुक्त्त बनाइएको छ । एनआरएन मलेसियाका पूर्वअध्यक्ष समेत रहेका शाहीले मलेसियाको आतंकवाद हेर्ने विशेष प्रहरीले सन् २०१६ मा पक्राउ गरी डिर्पोट गरेको थियो । उनी फेरि मलेसिया नै फर्केका थिए ।
