हार्वर्ड विश्वविद्यालयमा ‘नेपाल सम्मेलन’ हुँदै 

हार्वर्ड र एमआईटीका नेपाली विद्यार्थीको आयोजनामा अप्रिल २५ र २६ मा क्याम्ब्रिजमा एआई, श्रम बजार र युवा नेतृत्वबारे सम्मेलन हुँदै छ ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

'Nepal Conference' being held at Harvard University

What you should know

काठमाडौँ — विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा पर्ने हार्वर्ड र म्यास्याचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी(एमआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाल सम्मेलन गर्ने भएका छन् । यही अप्रिल २५ र २६ मा क्याम्ब्रिज, म्यास्याचुसेट्समा ‘द नेपाल डिस्कोर्स २०२६’ शीर्षकमा पहिलोपटक नेपालसम्बन्धी सम्मेलन हुन लागेको हो । 

लिडरसिप अकाडेमी नेपाल र कान्तिपुर मिडिया ग्रुपको सहयोगमा आयोजना हुने सम्मेलन विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावसँग जोडिएका विषयमा केन्द्रित रहने जनाइएको छ । सम्मेलनमा चार मुख्य विषयवस्तु- एआई र भविष्यको श्रम बजार, नयाँ पुस्ताको नेतृत्व, सबल संस्थाहरू र डायस्पोरा सहभागिता रहेको छ ।

दुई दिने कार्यक्रममा करिब एक दर्जन प्यानल डिस्कसन र ‘फायरसाइड’ संवाद हुनेछन् । ‘नेपाल र डायस्पोरामा रहेका प्रमुख नेतृत्वहरूलाई एकै ठाउँमा ल्याएर दक्ष जनशक्तिसम्बन्धी विद्यमान चुनौतीहरूलाई गहिरो रूपमा विश्लेषण गर्ने र आगामी १० वर्षका लागि रणनीतिक दृष्टिकोण विकास गर्ने अवसर पाउँदा हामी उत्साहित छौँ,’ हार्वर्ड विश्वविद्यालयका स्नातकोत्तर अध्ययनरत विद्यार्थी तथा कार्यक्रम आयोजनामा जोडिएका उत्सव खरेलले भने ।

सम्मेलनमा करिब ४०० जना सहभागी हुने अपेक्षा गरिएको छ। त्यसमा नेपाल र अमेरिकास्थित नेपाली डायस्पोराबाट करिब ३० जना वक्ता र संयोजक हुनेछन् । वक्ताहरूमा एफवानसफ्टका सह-संस्थापक विश्वास ढकाल, ग्रो बाई डेटाका संस्थापक प्रशन्न ढुंगेल, फ्युजमसिन्सका संस्थापक समीर मास्के, विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिसलेन, हार्वर्ड विश्वविद्यालयका प्राध्यापक पिटर ब्लेयर र सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल सहभागी हुनेछन् । 

सम्मेलनपश्चात् ‘स्ट्राटेजिक फोरसाइट २०३५’ नामक मार्गचित्र तयार गरिनेछ । कार्यक्रममा सहभागी हुन निमन्त्रणा आवश्यक पर्ने र इच्छुकहरूले आधिकारिक वेबसाइटमार्फत निमन्त्रणा उपलब्ध गराउन अनुरोध पठाउने सक्ने आयोजकले जनाएका छन् । 

कान्तिपुर

Link copied successfully