तमु धींद्वारा बेलायतमा गोर्खा कपको तयारी, पुरस्कार राशी बृद्धि

गोर्खा कपको २४ औँ संस्करण आगामी २४ मे (१० जेठ) मा अल्डरसटस्थित क्वीन्स् एभिन्यू फुटबल खेल मैदानमा आयोजना हुने भएको छ ।

चैत्र ३, २०८२

आश गुरुङ

Tamu Dheen prepares for Gurkha Cup in UK, prize money increased

What you should know

लमजुङ — बेलायतस्थित नेपाली संस्था तमु धीं यूकेले यसवर्ष आयोजना गर्ने गोर्खा कप फुटबल प्रतियोगिताको पुरस्कार राशी बढाएको छ ।

गोर्खा कपको २४ औँ संस्करण आगामी २४ मे (१० जेठ) मा अल्डरसटस्थित क्वीन्स् एभिन्यू फुटबल खेल मैदानमा आयोजना हुने भएको छ ।

गोर्खा कप बेलायतमा नेपाली समुदायले आयोजना गर्ने सबैभन्दा ठूलो र लोकप्रिय फुटबल उत्सवको रुपमा परिचित छ । आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले मेन र भेटेरानतर्फको पहिलो पुरस्कार राशी वृद्धि गर्ने निर्णय गरेको बताए ।

उनका अनुसार यस वर्ष मेनतर्फका विजेताले ३ हजार ५ सय पाउन्ड र भेटेरानतर्फका विजेताले १ हजार ८ सय पाउन्ड प्राप्त गर्नेछन् । गत वर्ष मेनतर्फ ३ हजार र भेटेरानतर्फ १ हजार ५ सय पाउन्ड पुरस्कार राशी थियो ।

यसवर्ष मेनतर्फ उपविजेताले २ हजार पाउन्ड र भेटेरानतर्फका उपविजेताले १ हजार २ सय पाउन्ड पाउनेछन् । महिलातर्फका विजेताले ६ सय पाउन्ड र उपविजेताले ४ सय पाउन्ड प्राप्त गर्नेछन् । तमु धीं यूकेको मिचेटस्थित भवनमा आइतबार बसेको बैठकले फुटबल प्रतियोगिता र पुरस्कार राशीबारे निर्णय गरेको उनले बताए ।

तमु धीं यूकेका खेलकुद सचिव एवम् गोर्खा कपका खेल संयोजक दीपक घलेका अनुसार यसवर्षको गोर्खा कपमा ५० टीमले प्रतिस्पर्धा गर्नेछन् । यसमा मेनतर्फ ३२ टीम, भेटेरानतर्फ १६ टीम र महिलातर्फ २ टोली सहभागी हुनेछन् ।

टिम दर्ता शुल्क मेन र भेटेरानतर्फ ३ सय ५० पाउन्ड तथा महिलातर्फ ३ सय पाउन्ड तोकिएको छ । टिम तथा स्टल दर्ता प्रक्रिया ५ अप्रिलदेखि खुला गरिएको आयोजकले जनाएको छ । गत वर्ष २३ औँ संस्करणमा मेनतर्फ नेपाली ड्रिम, भेटेरानतर्फ हिमालयन र महिलातर्फ रन्डर बोल्ट विजेता बनेका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई ट्रफीसहित पुरस्कार प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राइकरलाई पनि सम्मान गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजक तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले गोर्खा कपमा साँस्कृतिक प्रस्तुति, बालबालिका तथा फरिवारका लागि मनोरञ्जनात्मक खेल, नौमती बाजालगायतका कार्यक्रमसमेत आयोजना गरिने बताए ।

यसैबीच बैठकले ‘ट्रेल वाकर’ कार्यक्रममा हरेक वर्ष सहभागी हुने निर्णय पनि गरेको छ । यसका लागि सल्लाहकार शान्तकुमार गुरुङको संयोजकत्वमा समितिमा उपाध्यक्ष कमल गुरुङ, सल्लाहकार तर्कजंग गुरुङ र आजीवन सदस्य भीम गुरुङ सदस्य रहेका छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully