लन्डनमा बिस्का जात्राको तयारी तीव्र

पासा पुचः गुथि यूकेले आगामी १९ अप्रिलमा डार्टफोर्ड ओपन एयर थिएटर, सेन्ट्रल पार्कमा तेस्रो बिस्का जात्रा आयोजना गर्न लागेको हो ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

Preparations for Biscay Jatra intensify in London

What you should know

लन्डन — पासा पुचः गुथि यूकेले तेस्रो लन्डन बिस्का जात्राको तयारी तीव्र पारेको छ । आगामी १९ अप्रिलमा डार्टफोर्ड ओपन एयर थिएटर, सेन्ट्रल पार्कमा जात्रा हुन लागेको हो । गुथिले शनिबार साउथ इस्ट लन्डनस्थित गोर्खा क्याप्रिकन क्लबमा पत्रकार सम्मेलन गरी जात्राको तयारीबारे जानकारी गराएको थियो ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्य र स्थानीय संघसंस्थाको सहयोगमा जात्रा आयोजना गरिँदैछ ।

पत्रकार सम्मेलनमा पासा पुचः गुथि यूकेका पूर्वअध्यक्ष तथा संरक्षक ओजेश सिंहले भक्तपुरमा हुने प्रमुख जात्रा बिस्काको इतिहासबारे जानकारी दिए । जसमा भैरव र भद्रकालीको रथ तानेर मनाइने यस जात्रा लन्डनमा सन् २०२२ मा पहिलोपटक, २०२४ मा दोस्रो र यस वर्ष तेस्रोपटक हुन लागेको उनले जनाए ।

सिंहले नेपालकै जस्तो अनुसरण नगरी आफ्नै मौलिक पारामा जात्रा मनाइने जनाए । ब्रिटिश नेवा हेरिटेजलाई संरक्षण गर्ने उद्देश्यले मनाउन सुरु गरिएको प्रष्टयाउँदै उनले लन्डनलाई अन्तर्राष्ट्रिय जात्राहरुको हब बनाउने उद्देश्यसमेत रहेको बताए ।

इभेन्ट को-अर्डिनेटर एवं पासा पुच गुथि यूके साउथ इस्ट लन्डन शाखा अध्यक्ष सुरोज मास्केले जात्रामा करिब २५ सयजति दर्शक अपेक्षा गरिएको बताए ।

पासा पुच गुथि यूकेका केन्द्रीय अध्यक्ष सुशील प्रजापतिले आफ्नो संस्थाले केही वर्षदेखि बिस्का जात्रा, इन्द्र जात्रा, खः जात्रा देखाइँदै आएको जनाउँदै नेवा कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने बताए । 

पासा पुच गुथि यूके साउथ इस्ट लन्डनका उपाध्यक्ष एवं सांस्कृतिक संयोजक सत्यप्रसाद प्रजापतिले बिस्का जात्राको महत्त्वपूर्ण पक्षबारे जानकारी दिए ।

उनले जात्राको मुख्य आकर्षणहरुमा भैरव/ भद्रकाली रथ, योसिन द्यो, चारवटा खः सहितको सिन्दुर जात्रा, समेबजी दों रहनेछन् । पासा पुच गुथिका चारवटा शाखाबाट परमपरागत बाजाहरुमा धिमे बाजा,ढा बाजा, खिं बाजा, नाय् खिं बाजा, बाँसुरी बाजाका नौ वटा टोली, भैरव काली नाच, ख्या नाच , गोर्खाको ताकतुके नाच, ७२ जनाको धिमे प्याखंको विशेष प्रस्तुति दिने तयारी भइरहेको जनाए ।

प्रजापतिले त्यसदिन योमरी, वः, समेबजीलगायत नेवारी खानाका सटल र बच्चाका लागि फेस पेन्टिङ उपलब्ध हुने बताए ।

कान्तिपुर

Link copied successfully