रस्मूर बरो काउन्सिलसँगको सहकार्यमा शनिबार अल्डरसटस्थित द प्यालेसमा महिला दिवस मनाएको जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिइन् ।
लन्डन — ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले बेलायतमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । रस्मूर बरो काउन्सिलसँगको सहकार्यमा शनिबार अल्डरसटस्थित द प्यालेसमा महिला दिवस मनाएको जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिइन् । उनले पहिलोपटक स्थानीय रस्मूर बरो काउन्सिलको सहयोग र सहकार्यमा नारी दिवस मनाएको बताइन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञले मानसिक स्वास्थ्य, घरेलु हिंसाको न्यूनीकरण, बाल सुरक्षा र अपराध नियन्त्रणजस्ता सामाजिक मुद्दाहरूमा विशेष प्रस्तुति दिएका थिए । कार्यक्रममा बालबालिकाका लागि विभिन्न खेलकुद, सांस्कृतिक नृत्य, सांगीतिक प्रस्तुति र राफल ड्र जस्ता गतिविधि पनि सञ्चालन गरिएको संस्थाका सचिव प्रजेष श्रेष्ठले बताए ।
'गिभ टु गेन' नारासहित मनाइएको कार्यक्रममा रस्मूरका मेयर क्यालम स्टुअर्ट र सांसद एलेक्स बेकर उपस्थित थिइन् । त्यस्तै, डेपुटी लिडर तथा काउन्सिलर सोफी पोर्टर, काउन्टी काउन्सिलर एलेक्स क्रफोर्ड, जेनिफर इभान, पूर्वमेयर मारा माकुनुरा, वर्तमान र पूर्वकाउन्सिलरहरू,नेपाली र गैरनेपाली समुदायबाट अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रमलाई विगतभन्दा फरक र थप समावेशी बनाइएको जीआरएनसीकी अध्यक्ष माबोले बताइन् ।
