गैरकानुनी रुपमा मेक्सिकोको सीमाबाट प्रवेश गरेका ९५ नेपाली अमेरिकाबाट निष्कासित 

९२ जना पुरुष र ३ जना महिलासहित निष्कासित हुनेलाई शुक्रबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनलाई बुझाइएको थियो ।

फाल्गुन १७, २०८२

सुदीप शिवाकोटी

95 Nepalis deported from US for illegally entering Mexico

What you should know

अमेरिका — मेक्सिकोको सीमा हुँदै गैरकानुनीरुपमा प्रवेश गरेका ९५ जना नेपालीलाई एक साथ निष्कासन गरिएको छ । विभिन्न समयमा अमेरिकाको दक्षिणी क्षेत्र मेक्सिकोको सीमाबाट गैरकानुनी रुपमा प्रवेश गरेर बसोबास गर्दै आएका ९५ जना नेपालीलाई स्थानीय अध्यागनसम्बन्धि नियन्त्रण र नियमन गर्ने उच्च अमेरिकी निकाय युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले पक्राउ गरेर होमल्याण्ड सेक्युरिटीको समन्वयमा स्थानीय समयअुनसार बिहीबार निष्कासित गरेको हो । ९२ जना पुरुष र ३ जना महिलासहित निष्कासित हुनेलाई शुक्रबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनलाई बुझाइएको थियो ।

वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासका अनुसार पछिल्लो पटक एक साथ निष्कासित हुने ९५ जनामध्ये सबैभन्दा बढी दाङका ३५ जना छन् । रुकुम पश्चिमका २०, रुकुम पूर्वका १२, गुल्मीका ३, बाग्लुङका २, रोल्पाका ३, काठमाडौंका २, म्याग्दीका २, बाँकेका २ र सिन्धुपाल्चोक, दोलखा, बर्दिया, सर्लाही, अर्घाखाँची, डोल्पा, संखुवासभा, जाजरकोट, लमजुङ, काभ्रे, धादिङ, सल्यान, प्युठान र पर्वतका १/१ जना रहेको राजदूतावासले जनाएको छ । 

95 Nepalis deported from US for illegally entering Mexico

मेक्सिकोको सीमाबाट गैरकानुनी रुपमा प्रवेश गरेका कारण उनीहरुसँग राहदानी नभएको अवस्थामा दूतावास र महावाणिज्यदूतावासबाट ट्राभल डकुमेन्ट जारी गरिएकाले निष्कासित भएकाको नेपाल ठेगानाबारे जानकारी भएको दूतावासकी अधिकृत जुना अधिकारीले बताइन् । पछिल्लो पटक ९५ जनासहित २०२५ जनवरीदेखि हालसम्म अमेरिकाबाट निष्कासित हुने गैरकानुनी नेपाली आप्रवासीको संख्या ६ सय ८० पुगेको छ । 

यसअघि २०२५ जनवरीदेखि २०२६ जनवरीसम्म ५ सय ८५ जनालाई आइसको निशानामा परेकालाई होमल्याण्ड सेक्युरिटीले निष्कासन गरेको थियो । वर्षौंदेखि कागजातविहीन अवस्था र गैरकानुनी रुपमा बसोबास गर्दै आइरहेका १ हजार ३ सय ६५ जना नेपालीलाई एक वर्षभित्र निष्कासित गर्ने सूचीमा राखिएको थियो ।

95 Nepalis deported from US for illegally entering Mexico

गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका, कागजातविहीन र आपराधिक गतिविधिमा संलग्न देखिएका आप्रवासीलाई ट्रम्प प्रशासनको मुख्य योजना, युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको समन्वय र अध्यागनसम्बन्धि नियन्त्रण र नियमन गर्ने उच्च अमेरिकी निकाय युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)को सक्रियतामा सुरु गरिएको निष्कासन नीतिलाई अमेरिकी सरकारले अझै बढी कडाइका साथ कार्यान्वयन गरिरहेको छ । 

अमेरिकामा बसोबास गर्दै आएका गैरकानुनी आप्रवासीमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुएला, ब्राजिल र कोलम्बियाका छन् । 

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully