तामाङ सोसाइटी अफ न्यू साउथ वेल्सको आयोजनामा शनिबार पारामाटास्थित रिभरसाइड थिएटरमा ल्होछार मनाइएको हो ।
What you should know
सिड्नी — तामाङ समुदायले अस्ट्रेलियाको सिड्नी पारामाटामा सोनाम ल्होछार–२८६२ (घोडा वर्ष) विविध सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।
तामाङ सोसाइटी अफ न्यू साउथ वेल्सको आयोजनामा शनिबार पारामाटास्थित रिभरसाइड थिएटरमा ल्होछार मनाइएको हो । कार्यक्रममा तामाङ सोसाइटी अफ एनएसडब्लूका पूर्वअध्यक्ष तथा समुदायका अग्रजहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिहाद दिपले तामाङ समुदायले प्रवासमा आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले बहुसांस्कृतिक अस्ट्रेलियामा यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपाली समुदायको पहिचानलाई अझ मजबुत बनाउने बताए । नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोडिराख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
सञ्जीव शर्माले तामाङ समुदायले अस्ट्रेलियामा आफ्नो संस्कृति जगेर्ना गर्न गरिरहेको प्रयास सराहनीय रहेको भन्दै यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आपसी सद्भाव र एकता बलियो बनाउने विश्वास व्यक्त गरे ।
स्थानीय काउन्सिलर भद्र वाइबाले तामाङ सोसाइटी अफ न्यू साउथ वेल्सले समुदायको पहिचान जगेर्ना गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सक्रिय सहभागिता गर्वको विषय भएको बताए ।
संस्थापक तथा तामाङ सोसाइटी अफ अस्ट्रेलियाका सल्लाहकार गणेश तामाङले तामाङ समुदायको एकता, भाषा, संस्कृति र धर्मको संरक्षण नै संस्थाको मूल उद्देश्य रहेको बताए । उनले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको उल्लेख गरे ।
तामाङ सोसाइटी अफ एनएसडब्लूका अध्यक्ष अविरल तामाङले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक, प्रायोजक, कलाकार तथा दर्शकलाई धन्यवाद दिए । उनले तामाङ समाजको मूल आधार भाषा, संस्कृति र धर्मको संरक्षण र प्रवर्द्धन रहेको उल्लेख गर्दै भावी दिनमा अझ स्तरीय र व्यवस्थित कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सेलो गायक आश्मान लोप्चन आले र लोकप्रिय गायक, संगीतकार दिल तामाङको प्रस्तुतिमा दर्शक झुमेका थिए ।
कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघ अस्ट्रेलियाका अध्यक्ष लक्ष्मण गुरुङ, तमु समाज अस्ट्रेलियाका अध्यक्ष हेउपति गुरुङ, अस्ट्रेलियन नेपाली पत्रकार संघका अध्यक्ष कृष्ण तिवारी, संचारकर्मी हेमन्त कफ्ले, डा. राजु मानन्धर तक्दिर अधिकारी, कृष्ण पोखरेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नेपाली तथा तामाङ समुदायका अगुवा, बुद्धिजीवी, कलाकार, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
