आइसका अनुसार निकारागुवाका नागरिक ३६ वर्षीय भिक्टर म्यानुएल डियाज र मेक्सिकोका नागरिक ३४ वर्षीय हेबर सान्चेज डोमिङ्गेजको हिरासतमा मृत्यु भएको हो ।
अमेरिका — आप्रवासनसम्बन्धी नियन्त्रण र नियमन गर्ने उच्च निकाय अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स् इन्फोर्समेन्ट (आइस)को हिरासतमा दुई आप्रवासीको मृत्यु भएको छ ।
आइसका अनुसार निकारागुवाका नागरिक ३६ वर्षीय भिक्टर म्यानुएल डियाज र मेक्सिकोका नागरिक ३४ वर्षीय हेबर सान्चेज डोमिङ्गेजको हिरासतमा मृत्यु भएको हो ।
निकारागुवाका भिक्टर म्यानुएलको टेक्ससको एलपासोस्थित क्याम्प इस्ट मोंटानामा र मेक्सिकोका हेबरको जर्जियाको एक थुनुवा कक्षमा मृत्यु भएको आइसले पुष्टि गरेको एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ ।
सुरक्षाकर्मीले भिक्टरलाई हिरासत कोठामा बेहोस अवस्थामा फेला पारेका थिए । आपतकालीन चिकित्सक टोलीले उनलाई उपचारको क्रममा मृत घोषणा गरेको थियो । आइसले प्रारम्भिक अनुसन्धानपछि मृत्युको सम्भावित कारण आत्महत्या हुन सक्ने बताएको छ ।
भिक्टर गैरकानुनी आप्रवासी रहेको पुष्टि भएपछि जनवरी ६ मा पक्राउ परेका थिए । उनी मार्च २६, २०२४ मा मेक्सिको बोर्डर हुँदै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका थिए । मृत फेला परेका अर्का गैरकानुनी आप्रवासी हेबर ६ दिनदेखि आइसको हिरासतमा थिए ।
उनी अदालतबाट मुद्दा सुनुवाइको प्रतीक्षामा थिए । मृत्युको कारणबारे आइसले प्रारम्भीक अनुसन्धान सुरु गरिसकेको छ । अमेरिकाबाट निष्कासनको प्रक्रियामा रहेको करिब ७३ हजार गैरकानुनी आप्रवासी आइसको हिरासतमा छन् । यो संख्या हालसम्मकै उच्च हो ।
