गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापाले अशक्तलाई केही राहतका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको बताए।
What you should know
गुल्मी — इस्मा गाउँपालिका-३ की बिना नेपालका दुवै खुट्टा र दायाँ हात चल्दैनन्। विद्यालय उमेरमा देखिएको यस्तो समस्या उपचार गर्दा पनि निकाे भएन।
४२ वर्षीय नेपालीलाई अहिले सहयोगकाे खाँचो छ। उनले मंगलबार गुल्मी जिल्ला समाज युकेबाट ५० हजार रुपैयाँ नगद सहयोग पाइन्। 'सानैदेखि समस्या छ, काम गर्न नसकेर यत्तिकै बस्नुपर्छ', उनले भनिन्, 'नगद सहयोग पाएकोमा खुसी छ, केही भए पनि राहत मिलेको छ ।' उनले मंगलबार आशा अपांग केन्द्र गुल्मीको समन्वयमा सहयोग पाइन्। उनले केन्द्रबाट अपांगमैत्री शाैचालय र खानेपानी व्यवस्थालगायतमा पनि सहयोग गरेको छ।
गुल्मीदरबार गाउँपालिका-५ अमरअर्बाथाेकका २४ वर्षीय रविन राना दुर्घटनामा परे। उनको स्पाइनल कट (घाँटीको मेरुदण्ड) सम्बन्धी समस्या देखियो। आर्थिक अभावमा उपचार नपाएका उनी अहिले हलचल गर्न सक्दैनन्। उनलाई बुबा नेत्रबहादुर राना मार्फत उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरिएको छ। 'गुल्मी जन्मिएर राेजगारमा युके रहेका दाजुभाइले सहयोग गर्नुभयो', उनले भने, 'उपचारमा अब केही भए पनि सहयोग पुग्नेछ ।' उनले सहयोगी मनहरूलाई धन्यवाद दिए।
गुल्मी जिल्ला समाज युकेद्वारा सत्यवती बहुमुखी क्याम्पसलाई एक लाख रुपैयाँ, आशा अपांग केन्द्रलाई एक लाख रुपैयाँ, रेडियो पुष्पाञ्जलीमा काैरव खत्रीलाई ५० हजार रुपैयाँ, रुरुक्षेत्र अटिजम पाठशालालाई ५० हजार रुपैयाँ, सत्यवती गाउँपालिका-४ का अशक्त ईश्वर शर्मालाई ५० हजार रुपैयाँ, अनुज ज्ञवालीलाई ५० हजार रुपैयाँ, इस्मा गाउँपालिका-३ की बिना नेपालीलाई ५० हजार रुपैयाँ र गुल्मीदरबार-५ का नेत्रबहादुर रानालाई ५० हजार रुपैयाँ सहयोग गरिएको हो। सहयोग रकम अपांगता दिवसकाे अवसरमा बेलायत (युके) मै संकलन भएको थियो। एकमुष्ट पाँच लाख रुपैयाँ सहयोग गरिएको हो ।
आशा अपांग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेले गुल्मी जिल्ला समाज युकेले विगतदेखि नै सहयोग गर्दै आइरहेको बताए। 'पीडा भएको घाउमा मल्हम लगाउने काम गरेको छ', उनले भने, 'आशा अपांग केन्द्रमार्फत सहयोग सधैं भइरहेको छ ।'
गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापाले अशक्तलाई केही राहतका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको बताए। 'थाेरै भएपनि अशक्तलाई व्यक्तिगत र संस्थागत सहयोग गरेका छाैं', उनले भने, 'अबका दिनमा नगद मात्रै नभएर सीप पनि सिकाउने याेजना छ ।' उनले आगामी दिनमा अक्षयकोष स्थापना गर्ने साेच राखेको बताए।
रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विदेशमा रहेर जन्मभूमिका अशक्त तथा असहायलाई सहयोग गर्नु सराहनीय भएको बताए। 'आफूले कमाएको थाेरैथाेरै रकम जम्मा गरेर पीडितलाई सहयोग भएको छ', उनल भने, 'गुल्मी जिल्ला समाज युकेले जिल्लालाई पीडामा सम्झेकाे छ ।'
