नेपालमा श्रीमती खोजिदिने अवैध म्याचमेकिङ एजेन्सीहरूलाई आँखा चिम्लेर विश्वास नगर्न सुझाव दिँदै दूतावासले मानव बेचबिखन र बालविवाहको झमेलाहरूबारे सचेत गराएको छ ।
What you should know
बेइजिङ — यात्रा सिजनदेखि महत्त्वपूर्ण पर्यटकीय एड्भाइजरी जारी गर्ने गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले यसपटक नेपाल घुम्न चाहने आफ्ना नागरिकलाई नेपालमा गर्न हुने र नहुने पाँच/पाँच सुझावहरू जारी गरेको छ ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार जारी बिदासम्बन्धी सूचनामा चिनियाँ परम्परागत नयाँ वर्ष वसन्त चाड (स्प्रिङ फेस्टिभल फेब्रुअरी १७) लाई समेत लक्षित गरिएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले सुरक्षित र सहज बिदा सुनिश्चित गर्न नेपालमा रहेका वा नेपाल यात्रा गर्ने योजनामा रहेका चिनियाँ नागरिकहरूका लागि सुरक्षा चेतावनी जारी गरेको हो । चीनमा सबैभन्दा लामो विदा मानिने वसन्त चाडमा अधिकांश चिनियाँहरू विदेश यात्रा गर्न रुचाउँछन् ।
सुझाव अनुसार भिसा र गन्तव्य, अध्यागमन नीति, यात्रा जोखिम र स्थानीय नियमबारे जानकारी राख्न भनिएको छ भने नेपालमा श्रीमती खोज्ने, अवैध रुपमा नेपालको बाटो भएर भारत यात्रा गर्ने, मुद्रा सटही, बिना अनुमति ड्रोन प्रयोग, वेश्यावृत्ति वा लागूपदार्थमा संलग्न नहुन चेतावनी दिइएको छ ।
न्यूज एक्सप्रेसलाई उद्धृत गर्दै शाङ्हाई इन्टरप्राइजेज गोइङ ग्लोबल कम्प्रिहेन्सिभ सर्भिस प्लेटफर्म र चिनियाँ संचारमाध्यमहरूले जनाएअनुसार, भिसाको लागि नेपाली अध्यागमन विभागको वेबसाइटमा गएर निःशूल्क अग्रिम आवेदन दिन तथा नेपालका नीतिनियम र आफ्नो गन्तव्यको अवस्थाबारे जानकारी राख्न भनिएको छ। यस्तै अध्यागमन नियमहरू ध्यानपूर्वक हेर्न, पाँच हजार अमेरिकी डलर वा विदेशी मुद्रा स्वघोषणा गर्न, सुन र चाँदीका सामान सम्बन्धित सीमा कडाइका साथ पालना गर्न सुझाइएको छ ।
स्थानीय रीतिरिवाज र परम्पराहरूको सम्मान गर्न, नेपालको जटिल सडक अवस्था र अनियमित ट्राफिकको बारेमा सचेत रहन, नेपाली उडानहरू ढिलाइ हुने सम्भावनाका लागि तयार रहन, प्रतिष्ठित ट्राभल एजेन्सी मार्फत यात्रा गर्न र बीमा खरिद गर्न सिफारिस गरिएको पनि जनाइएको छ । साथै उच्च जोखिमयुक्त पर्यटन गतिविधिहरू हिमाल पदयात्रा लगायतमा भाग लिँदा समूह यात्रा, प्रशिक्षण, बीमा, योग्य स्थानीय गाइडको साथ लिन र आफन्तजनलाई आफ्नो यात्रा सुरक्षाबारे अद्यावधिक गराउन अपिल गरिएको छ ।
नेपालमा श्रीमती खोजिदिने अवैध म्याचमेकिङ एजेन्सीहरूलाई आँखा चिम्लेर विश्वास नगर्न सुझाव दिँदै दूतावासले मानव बेचबिखन र बालविवाहको झमेलाहरूबारे सचेत गराएको छ ।
नेपाल-भारत सीमा खुला छ । तर चिनियाँ नागरिकहरूले नेपाल हुँदै भिसा-फ्री भारत यात्रा गर्न सक्दैनन् । भारतले अवैध प्रवेशमा कडा सजाय दिने भएकाले यसतर्फ ध्यान दिन भन्दै चीनले नेपालमा निजी मुद्रा विनिमय एक फौजदारी अपराध भएकाले ठगिनबाट सावधान रहन भनेको छ ।
अनुमति बिना कहिल्यै पनि ड्रोन प्रयोग नगर्न भन्दै यदि आवश्यक परेको खण्डमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पूर्व अनुमति लिन सुझाइएको छ । गर्न नहुने पाँच काममध्ये जुवा, वेश्यावृत्ति वा लागूपदार्थमा संलग्न नहुन चेतावनी दिइएको छ । चीनले आफ्ना नागरिकलाई चीन र नेपाल दुवैको कानून पालना गर्न आग्रह गरेको छ ।
