मलेसियाद्वारा विदेशी श्रमिकको कोटा माग गर्न समय थप

नेपालसहित श्रोत देशबाट श्रमिक ल्याउन पाउने बाटो खुल्ने

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Malaysia extends deadline to demand foreign worker quota

काठमाडौँ — मलेसियाले २०२५ का लागि विदेशी श्रमिक ल्याउने कोटा माग गरेका रोजगारदातालाई आगामी जनवरी १९ देखि मार्च ३१ सम्म विशेश समयावधि दिएको छ । यसले नेपालसहित श्रोत देशबाट श्रमिक ल्याउन पाउने बाटो खुल्नेछ ।

मलेसियाको गत अक्टोबर १ मा डिसेम्वर ३१ सम्म विदेशी श्रमिक ल्याउने पाउने गरी स्वीकृति दिइएको थियो । मंगलबार जारी गृह मन्त्रालयको विज्ञप्तिअनुसार सरकारले स्वीकृत गरेका सबै क्षेत्र तथा उपक्षेत्रमा विशेष समय लागू हुनेछ ।

गृहले जनवरी १९ देखि मार्च ३१ सम्म प्राप्त हुने सबै आवेदन सम्बन्धित अनुगमन गर्ने मन्त्रालयसँग छलफल गरी निर्णयका लागि अघि बढाइनेछ । ती आवेदन विदेशी श्रमिकको रोजगारी सम्बन्धी विद्यमान कानुनी व्यवस्था र सर्तअनुसार नै मूल्यांकन गरिने मन्त्रालयको भनाइ छ ।

गृह मन्त्रालयले रोजगारदातालाई एजेन्ट वा तेस्रो पक्ष प्रयोग नगरी विदेशी कामदार व्यवस्थापन वन–स्टप सेन्टरमार्फत सिधै आवेदन दिन पुनः आग्रह गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully