अमेरिकामै जन्मेहुर्केका नेपाली समुदायका बालबालिकालाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।
What you should know
न्युयोर्क — अमेरिकाका सात सहरमा बस्ने नेपाली प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीया आर्या खनाल र प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीया खुसी अधिकारी विजेता घोषित भएका छन् ।
नेपालीहरूको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको हृयारिसबर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टन सहरका प्रतिभाहरुले भाग लिएका थिए । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोन सहरमा भेला भएका यी प्रतिभाहरुको डिसेम्बर २० र २१ मा भएको प्रतिस्पर्धामा भाग लिएका थिए ।
गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ र नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाई दोस्रो बने । कोलम्बसकै कुन्जन सुवेदी गायनतर्फ र हृयारिसबर्गकी सामन्था क्षेत्री नृत्यतर्फ तेस्रो पुरस्कार जित्न सफल भए ।
अमेरिकामै जन्मे हुर्केका नेपाली समुदायका बालबालिका र किशोरकिशोरीलाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्ने कार्य १० वर्षदेखि निरन्तर गरिहेको फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताए । भुटानबाट लखेटिनुपर्दा पनि नछाडेको नेपाली संस्कृतिलाई पुस्तान्तरणको अभियानमा सबैको साथको अपेक्षा रहेको उनको भनाइ थियो ।
फाउन्डेसनले सात सहरमा सातवटा नेपाली नृत्य र संगीतका कक्षा सञ्चालन गरिरहेको छ । यी कक्षामा १३ सय नेपाली मूलका बालबालिका, किशोरकिशोरी अध्ययनरत छन् ।
'इन्टर स्कुल नृत्य र गायन प्रतियोगिता २०२५' नाम दिइएको यो प्रतिस्पर्धामा एकल गायन, एकल नृत्य र समूह नृत्यमा प्रथम हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाएका छन् भने दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
गायनतर्फ चर्चित नेपाली गायिका अन्जु पन्त र सुजता बर्मा तथा गायक अर्जुन रसाइली निर्णायक थिए भने नृत्यतर्फ नेपाली फिल्मका चर्चित नायक दिलिप रायमाझी, अभिनेत्री सारंगा श्रेष्ठ र नृत्यविद् आरती शर्मा निर्णायक थिए ।
कार्यक्रम संयोजक चन्द्र पराजुलीका अनुसार, गायनतर्फ सात सहरबाट छनोट भएर आएका २२ जनाबीच प्रतिस्पर्धा भएको थियो भने नृत्यतर्फ ३४ जना र ग्रुप नृत्यतर्फ ६ वटासमूह छनोट भई अन्तिम प्रतिस्पर्धा भएको थियो ।
