मलेसियामा कागज नभएका नेपालीसहित ८५३ श्रमिक पक्राउ

पक्राउ पर्नेमा नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका श्रमिक रहेका छन् । मलेसियाले पक्राउ पर्ने देशका नागरिकको संख्या खुलाएको छैन ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

853 workers, including undocumented Nepalis, arrested in Malaysia

काठमाडौँ — मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रमा गरिएको ८४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८०८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । 

सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा सडक छेउमा व्यापार सञ्चालन गरेपछि पक्राउ अभियान थालिएको बताए ।

पक्राउ पर्नेमा नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका रहेका छन् । समितिले पक्राउ पर्ने देशका नागरिकको संख्या खुलाएको छैन ।

आमिरुद्दीनका अनुसार यसअघि पनि सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केटसहित विभिन्न स्थानमा अवैध आप्रवासीविरुद्ध यस्तै अभियान चलाइएको थियो।

पक्राउ परेकामध्ये धेरैजसोसँग परिचय देखाउने कागजात नभएको, भिसा वा पासका सर्त उल्लंघन गरेको, बसाइ अवधि नाघेको, नक्कली वा मान्यता नपाएको कागजात प्रयोग गरेको जस्ता आरोप रहेको इमिग्रेसनले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि सेमेनिह इमिग्रेसन डिपो लगिएको छ । सिलायाङ बारुमा विदेशी श्रमिक बढी हुनु सस्तो भाडा रहेको बताइएको छ । आमिरुद्दीनका अनुसार अवैध आप्रवासी पहिचान, पक्राउ, मुद्दा दायर र देश निकाला गर्ने प्रक्रिया अगाडि बढाइने छ ।

उनले विदेशी श्रमिक भर्ना गर्दा वैध प्रक्रिया अपनाउन रोजगारदातालाई अनुरोध गरेको छ । 'अवैध बाटो प्रयोग गर्दा व्यवसाय नै प्रभावित हुन सक्छ र राष्ट्रिय सुरक्षामा समेत जोखिम पर्छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully