मणिपालमा व्यापार प्रशासनतर्फ स्नातक उत्तीर्ण गरेका रुजल श्रेष्ठले यो अवार्ड पाएका हुन् ।
काठमाडौँ — नेपाली विद्यार्थी रुजल श्रेष्ठले संयुक्त अरब इमिरेट्स (युएई)को मणिपाल अकादेमी अफ हायर एजुकेशनद्वारा सर्वोत्कृष्ट विद्यार्थीलाई दिइने ‘डा. रामदास एम. पाई एक्सिलेन्सी अवार्ड’ पाउन सफल भएका छन्।
मणिपालमा व्यापार प्रशासनतर्फ स्नातक उत्तीर्ण गरेका पोखराका श्रेष्ठले दुबईमा आयोजित २५ औँ वार्षिक दीक्षान्त समारोहमा उक्त अवार्ड पाएका हुन्।
दीक्षान्त समारोहमा ३९ वटा शैक्षिक कार्यक्रमअन्तर्गत ४३ ब्याचका ७ सय २२ विद्यार्थीले स्नातक उत्तीर्ण गरेका छन्। मणिपालले इन्जिनियरिङ, आईटी, व्यवसाय, जीवन–विज्ञान, डिजाइन, आर्किटेक्चर, लिबरल आर्ट्स र कमर्सलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
मणिपाल दुबईका उपकुलपति डा. सुधिन्द्र समन्नाले परिवर्तनसँग बाँच्न मात्र नभई परिवर्तनलाई नेतृत्व गर्ने स्नातक तहका विद्यार्थी उत्पादन गरिरहेको बताउँदै भने, ‘क्याम्पसबाट निस्कने हरेक विद्यार्थीले व्यवसाय, अनुसन्धान, सार्वजनिक सेवा वा अन्य क्षेत्रमा मूल्य सिर्जना गर्न सकून भन्ने हाम्रो अपेक्षा छ।’
