साहित्य परिषद् भुटानको सम्मेलनमा लेखक स्रष्टा सम्मानित

पुनर्वासपछिको नेपाली साहित्यका विषयमा डिजिटल कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Writers honored at Sahitya Parishad Bhutan conference

काठमाडौँ — साहित्य परिषद् भुटानको ११ औँ सम्मेलनका अवसरमा विभिन्न लेखक स्रष्टा सम्मानित भएका छन् । अमेरिकाको हेरिस्बर्ग पेन्सलभेनिया भएको कार्यक्रममा सन्चमान ज्यो ज्योका लेखक कृष्ण सुब्बा मुना स्मृति पुरस्कारबाट पुरस्कृत भए ।

भक्त घिमिरेको सौजन्यमा सुब्बालाई १५ सय एक डलर र प्रमाणपत्र वितरण गरिएको थियो । यसरी नै सुकरा साङ्गीतिक पुरस्कारबाट गोविन्द हुमगाइँ, अम्मर तुम्बापो र छवि न्यौपाने पुरस्कृत भएका हुन्  । तिनै स्रष्टालाई पाँच सय एक डलरले पुरस्कार र प्रमाण पत्र दिइएको थियो । 

परिषद्मा  क्यानडा च्याप्टरका निर्देशक खगेन्द्र गौतम र कृष अधिकारी संयुक्त रूपमा पुनर्वासपछिको नेपाली साहित्यका विषयमा एउटा डिजिटल कार्यपत्र (प्रेजेन्टेसन ) प्रस्तुत गरेका थिए । 

सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा आइतसिंह राई, विश्वनाथ क्षेत्री, पदम विश्वकर्मा, रत्न गुरुङ, अमल थुलुङ , रमेश दियालीलाई  विभिन्न समयमा योगदान पुर्‍याएकोमा सम्मान गरिएको थियो । भर्जिनिया निवासी ब्रेनका अध्यक्ष आर बी सुब्बाले सेरापी कलेजका दिन सम्झना गरे ।

गङ्गा लामिटारेको सभापतित्वमा प्रस्तुत कार्यक्रममाथि गण्डकी पुत्रले उनकै विषयमा पोट्रेट कविता सुनाएका थिए । भुट्निज लिट्रेचरका प्रधान सम्पादक शिवलाल दाहालले 'नेपाली भाषा विरासत दिवस - एक अवधारणा' शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका  थिए । सेप्टेम्बरको कुनै मिति तोकेर 'नेपाली भाषा विरासतको दिन मनाऔ' भनी उनले सम्मेलनमा प्रस्ताव गरे । 

कार्यक्रममा कुबेर कुइँकेल भुवनटारेको 'अन्त्यको सुरु' छन्द कविता पनि विमोचन गरियो । साहित्य परिषद् भुटान गौरनाफामूलक संस्था हो ।

कान्तिपुर संवाददाता

Link copied successfully