राजधानीमा सम्पन्न संघको विस्तारित बैठकले मास्केलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । मास्के यसअघि कोषाध्यक्ष पदमा थिइन् ।
काठमाडौँ — नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघमा निरोज मास्केले अध्यक्षको जिम्मेवारी पाएकी छन् । राजधानीमा सम्पन्न संघको विस्तारित बैठकले मास्केलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । मास्के यसअघि कोषाध्यक्ष पदमा थिइन् ।
कार्यवाहक अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको विस्तारित बैठकले भलिबलकी निर्वतमान उपाध्यक्ष मास्केलाई संघक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले रिक्त अध्यक्षमा मास्के, सह–अध्यक्षमा डा. श्रीधर गौतम, उपाध्यक्षमा डा. गोपाल पोख्ररेल, कोषाध्यक्षमा मन्दिरा भण्डारी, सह–कोषाध्यक्षमा दीक्षा पाण्डे, सल्लाहकारमा टासी स्याङ्मो गुरुङलाई अनुमोदन गरेको थियो ।
कार्यवाहक अध्यक्ष श्रेष्ठले संघको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । नवनियुक्त अध्यक्ष मास्केले नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघका सम्पूर्ण सदस्य तथा पदाधिकारी, सल्लाहकारलाई धन्यवाद दिँदै जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।
अध्यक्ष मास्केले अन्तरक्रिया कार्यक्रम, छलफल र दुई देशको आपसी मित्रता प्रगाढ बनाएर सांस्कृतिक विकास योजनामा काम गर्ने बताइन् । उनले छिटै बृहत् भेला आयोजना गरेर संघले नयाँ कार्ययोजना बनाएर काम गर्ने जानकारी गराइन् ।
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ दुई देशबीच आपसी मित्रता, सद्भाव र संस्कृति आदानप्रदान गर्ने योजनासहित गठन गरिएको संस्था हो । २०५९ सालमा स्थापित संघमा मास्के पाँचौँ अध्यक्ष हुन् ।
