टेक्सस र क्यालिफोर्नियामा नेपाल महावाणिज्य दूतावासको सेवा सुरु

नेपालीको बसोबास धेरै रहेको टेक्ससको डालस र क्यालिफोर्नियाको सानफ्रान्ससिस्को सहरमा सेवा सुरु गरेको हो ।

आश्विन ३०, २०८२

सुदीप शिवाकोटी

Nepal Consulate General services begin in Texas and California

What you should know

अमेरिका, टेक्सस — अमेरिकाको टेक्सस र क्यालिफोर्निया राज्यमा नेपाल महावाणिज्य दूतावासले सेवा सुरु गरेको छ ।

नेपालीको बसोबास धेरै रहेको टेक्ससको डालस र क्यालिफोर्नियाको सानफ्रान्ससिस्को सहरमा सेवा सुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले निर्णय गरेको करिब ६ महिनापछि टेक्सस र क्यालिफोर्नियामा महावाणिज्य दूतावासले औपचारिक रुपमा छुट्टाछुट्टै मितिमा सेवा प्रारम्भ गरेको थियो । राजधानी वासिङ्टन डिसीस्थित दूतावास र न्यूयोर्कस्थित महावाणिज्य दूतावासमा कामको चाप बढेसँगै अमेरिकाको अधिकांश राज्यमा नेपाली संख्या धेरै भएसँगै सेवा विस्तारका लागि नेपाल सरकारले दुई राज्यमा महावाणिज्य दूतावासलाई एकसाथ संचालनमा ल्याउने योजना अघि बढाएको थियो ।  

सानफ्रान्सिस्कोबाट संचालन हुने महावाणिज्य दूतावासको क्षेत्राधिकारमा अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्निया, एरिजोना, नेभाडा, युटा, वायोमिङ, आइडाहो, ओरेगन, मोन्टाना, वासिङ्टन, अलास्का र हवाई गरी ११ वटा राज्य पर्नेछ । यसैगरी डालसबाट संचालन हुने महावाणिज्य दूतावासले टेक्सास, ओक्लाहमा, अर्कान्सस्, लुजियाना, न्यूमेक्सिको, कोलोरोडो, कान्सस् र मिसिसीपी गरी आठ वटा राज्यलाई क्षेत्राधिकार बनाइ सेवा संचालन गरेको छ । 

क्यालिफोर्नियामा सेप्टेम्बरको अन्तिम साता र टेक्ससमा अक्टोबर दोस्रो साताबाट सेवा सुरु गरेको टेक्सासका महावाणिज्यदूत सुरेश अधिकारीले जानकारी दिए । दुवै राज्यमा महावाणिज्य दूतावास स्थापनाका लागि सँगै निर्णय गरिए पनि प्राविधिक कारण र कार्यालय रहने स्थान तोक्न ढिलाइ हुँदा समय फरक परेको बताए । ‘मैले जानकारी पाएअनुसार क्यालिफोर्नियामा पूर्ण सेवा संचालन भइरहेको छ,’ उनले भने, ‘टेक्ससमा पनि पूर्ण सेवा संचालन भए पनि सुरुका केही साता प्राविधिक त्रुटिलाई ध्यानमा अघि बढेका छौं ।’

क्यालिफोर्नियामा राहदानी सेवाले तीव्रता लिए पनि टेक्ससमा भने अपोइटमेन्ट संख्या न्यून राखिएको छ । केही प्राविधिक व्यवस्थापन टुंगिएपछि राहदानी बनाउन अपोइटमेन्टको संख्यामा वृद्धि गरिने महावाणिज्यदूत अधिकारी बताए । ‘हामीले कार्यालय संचालन र सेवा सुरु गरे पनि राहदानी बनाउनका लागि पर्याप्त अपोइटमेन्ट मिति सार्वजनिक गरेका छैनौं । सुरुमा ५–१० वटा अपोइटमेन्ट खुलाए पनि नेपालमा केही प्राविधिक व्यवस्थापन पूरा भएपछि हामीले राहदानी सेवाका लागि अपोइटमेन्टको संख्या बढाउने छौं,’ उनले भने ।

कर्मचारी नियुक्तिसँगै प्राविधिक व्यवस्थापनले पूर्णता पाएसँगै क्यालिफोर्नियाको महावाणिज्य दूतावासले राहदानी आवेदन, अधिकृत वारेसनामा, कन्सुलर प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्रको काम एक महिनाअघि नै सुरु गरिसकेको थियो । महावाणिज्य दूतावासको अधिकारभित्र पर्ने सबै कामलाई पूर्ण रुपमा सुरु गर्न टेक्ससमा करिब दुई साता समय लाग्ने महावाणिज्यदूत अधिकारीले बताए ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully